१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

गहुँको समर्थन मूल्यप्रति किसानको असन्तुष्टि



काठमाण्डौ ।    

सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन् । 

सरकारले यस वर्ष गहुँको समर्थन प्रति क्विन्टल मूल्य ३ हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन मूल्यबाट लागतसमेत नउठ्ने भएपछि चिन्तित बनेका छन् । पछिल्लो समय पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएको अवस्थामा सरकारले तोकेको मूल्यले लागतसमेत नउठ्ने किसानहरुको गुनासो छ । 

सरकारले गहुँको मूल्य तोके पनि कञ्चनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको गहुँ खरिद नगर्दा किसानहरू मर्कामा परेका छन् । 

सरकारले समयमै गहुँको समर्थन मूल्य नतोक्ने र तोके पनि पनि झन्झटिलो तथा खरिद प्रक्रियामा ढिलाइजस्ता समस्याले विचौलियाले किसानको उत्पादन सस्तोमा खरिद गर्ने गरेको यहाँका स्थानीय विष्णु जोशी बताउनुहुन्छ । उहाँले सरकारले मूल्य तोक्दा बजारमा अन्य वस्तुको मूल्यवृद्धिलाई मध्यनजर गरेर किसानको उत्पादनको उचित मूल्य तोक्नुपर्ने बताउनुभयो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महेन्द्रनगरका कार्यालय प्रमुख महिकरण महराले गहुँ खरिदको कोटा निर्धारण नहुँदा किसानबाट गहुँ खरिद गर्न नसकिएको बताउनुभयो । कञ्चनपुरमा १ लाख ६१ हजार ७४१ हेक्टर कूल खेतीयोग्य जमिन छ । यसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ ।    

प्रकाशित मिति : १ बैशाख २०८३ मंगलबार ००:००  ११ : २९ बजे