४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

इजरायल–लेबनान युद्धविराम लागू, युद्धविराम पालना गर्न हिजबुल्लाहलाई ट्रम्पको अपिल



काठमाडौंः लेबनानमा आज बिहानदेखि १० दिने युद्धविराम लागू भएको छ। योसँगै इजरायली सेना र लडाकू समूह हेजबुल्लाहबीचको लडाइँ रोकिएको छ। जसले अमेरिका र इरानबीचको शान्तिवार्ताको प्रमुख अवरोध पनि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायल र हिजबुल्लाहबीच आक्रमण जारी थियो।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक ज्ञापनपत्रमा युद्धविरामको रूपरेखा प्रस्तुत गर्दै भनेको छ कि इजरायलले ‘आत्मरक्षामा सबै आवश्यक उपायहरू लिने’ आफ्नो अधिकार कायम राख्नेछ, तर जमिन, वायु वा समुद्रबाट लेबनानी लक्ष्यहरू विरुद्ध ‘आक्रामक कारबाही’ गर्ने छैन।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरानसँग अर्को प्रत्यक्ष वार्ता यसै सप्ताहन्तमा हुनसक्ने बताएका छन्।

लेबनानी अधिकारीहरूका अनुसार हालको लडाइँमा लेबनानमा २१०० भन्दा बढी मानिस मारिएका छन् र दस लाखभन्दा बढी विस्थापित भएका छन्। इजरायली अधिकारीकाअनुसार दुई नागरिकसहित कम्तीमा १३ इजरायली सैनिक पनि मारिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत अपिल गर्दै लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्वपूर्ण समयमा राम्रो र उचित व्यवहार गर्नेछ।’

ट्रम्पले थप लेखेका छन्, ‘यदि उनीहरूले यसो गरे भने, यो उनीहरूका लागि ‘महान’ समय हुनेछ। अब कुनै हत्या हुनेछैन। अन्ततः शान्ति हुनुपर्छ।’ यसअघि ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमार्फत लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको घोषणा गरेका थिए।

युद्धविरामको घोषणा गर्ने आफ्नो पोस्टमा ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गरेको बताएका छन्। प्राविधिक रूपमा, यो युद्धविराम इजरायल र लेबनानबीच हो, जुन हिजबुल्लाहको आधार हो।

एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार युद्धविरामको समयमा इजरायलले ‘हिजबुल्लाहको आक्रमण’लाई मात्र सैन्य रूपमा जवाफ दिनेछ।

बिहीबारमात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दिगो शान्ति सम्झौताका लागि इरान समर्थित समूहले निशस्त्रीकरण गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति : ४ बैशाख २०८३ शुक्रबार ००:००  ९ : २६ बजे