८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

तराई मधेशमा आउँदो ३ दिन तातो हावाको जोखिम: ५ दिनसम्म गर्मी बढ्ने



काठमाण्डौ ।

देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर अर्थात् लू को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले पर्सि बिहिवारसम्म तराईका केही जिल्लामा लू चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाण्डौमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिवारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ ।

उहाँले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार ठाउँमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिनुभयो । लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू– कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीमा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ ।

त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।

तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८३ मंगलबार ००:००  ६ : ३९ बजे