काठमाण्डौ ।
देशभर तापक्रम बढ्न थालेको छ । तराई-मधेश क्षेत्रमा तातो हावा चल्न थालेको छ । काठमाण्डौ उपत्यकामा पनि तापक्रम बढेको छ ।
अझै केही दिन तराई-मधेशमा गर्मी र तातो हावाको लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम भैरहवामा ४२ डिग्री सेल्सियस मापन भएको छ ।
साथै, मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा ३८ डिग्री सेल्सियस आसपास तापक्रम मापन गरिएको छ ।
मौसमविद्का अनुसार अहिले वर्षा गराउने प्रणाली सक्रिय छैन । चर्को गर्मीसँगै तराईका केही ठाउँमा तातो हावा चलेपछि जनजीवन प्रभावित बन्न थालेको छ ।
विशेष गरी बालबालिका, वृद्ध वृद्धा, मजदुर र साना व्यवसायी यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीका बेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ खान, हल्का र खुला कपडा लगाउन तथा चर्को घाममा सकेसम्म खेतबारीको काम नगर्न आग्रह गरिएको छ ।
घरबाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न सल्लाह छ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हिमाली भेगमा सहित कोशी प्रदेशका पहाडी भागमा आंशिक बादल लागेको छ, भने बाँकी भागमा मौसम सफा छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ ।







प्रतिक्रिया