९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

वाणगंगा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा



कपिलवस्तु ।

वाणगंगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। बुधबार नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो। नगरस्तरीय खोप समन्वय समितिका संयोजक एवं नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लामै पहिलो खोप सुनिश्चतता घोषणा गर्न सफल भएकोमा बाणगंगालाई धन्यवाद दिँदै यसको दिगोपना र निरन्तरताको लागि आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री जनार्दन गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुमार, नगर उपप्रमुख रीता कुमारी चौधरी, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भातराम मरासिनी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लक्ष्य समूहका सबै नागरिकलाई खोप पहुँचमा ल्याउन सफल भएको जानकारी गराइएको थियो। पूर्ण खोप सुनिश्चितता घोषणा सँगै यसको दिगोपनाका लागि निरन्तर निगरानी, समन्वय र सचेतना अभिवृद्धिमा जोड दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा वक्ताहरूले खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा यस्तै सहकार्य आवश्यक रहेको बताएका थिए।

प्रकाशित मिति : ९ बैशाख २०८३ बुधबार ००:००  ३ : ५९ बजे