चन्द्राैटा ।
कपिलवस्तुको शिवराज चन्द्राैटामा स्थानीय अधिकार कार्यक्रम (LRP) अन्तर्गत जीवन उपयोगी सिप विकाससम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ। शिवराज नगरपालिकाको सहकार्य तथा एक्सनएड नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुको साझेदारीमा तालिम संचालन गरिएकाे थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले जीवन उपयोगी सिप (Life Skills) आजको समयको अत्यन्तै आवश्यक विषय भएको उल्लेख गर्दै यस्ता सिपले व्यक्तिलाई जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउने बताए। उनले आत्मविश्वास, निर्णय क्षमता, समस्या समाधान, सञ्चार सीप, नेतृत्व विकास, भावनात्मक सन्तुलन र सामाजिक उत्तरदायित्व जस्ता पक्षहरू जीवन उपयोगी शिक्षाका मुख्य आधार भएको बताए। युवा पुस्तालाई सही दिशामा अगाडि बढाउन, उनीहरूलाई आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउन यस्ता तालिम अपरिहार्य छन् उनले भने।
तालिममा सहभागीहरूलाई व्यक्तिगत विकास, समूहमा काम गर्ने तरिका, द्वन्द्व व्यवस्थापन, लैंगिक समानता, बालअधिकार, नेतृत्व विकास तथा सामाजिक सचेतनाका विविध विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमार्फत सिकाइ प्रभावकारी बनाउने प्रयास गरेका थिए।
जीवन उपयोगी शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने, बरु दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक ज्ञान र सीपको समग्र विकास हो। यसले व्यक्तिलाई सही निर्णय लिन, गलत बाटोबाट टाढा रहन, सकारात्मक सोच विकास गर्न तथा समाजमा सक्रिय र जिम्मेवार भूमिकामा रहन सहयोग पुर्याउँछ। विशेषगरी किशोर तथा युवाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई सामाजिक समस्याप्रति संवेदनशील बनाउने काम जीवन उपयोगी शिक्षाले गर्छ।
प्रशिक्षार्थीहरूले तालिम अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिएका छन्। सहभागी पंकज यादवले तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नो गाउँ तथा समाजमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यो तालिमले जीवनलाई कसरी सही ढंगले अघि बढाउने भन्ने महत्वपूर्ण कुरा सिकाएको बताए ।
तालिमकाे समापन सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष लिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो भने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्व अध्यक्ष सागर श्रेष्ठ तथा पूर्व अध्यक्ष एवं प्रशिक्षक पोम नारायण पौडेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा जनचेतना अभिवृद्धि, क्षमता विकास तथा सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सामाजिक जिम्मेवारीप्रति जागरूकता वृद्धि गरेको कार्यक्रम अधिकृत संजिव गहतराजले जानकारी दिए । क्षमता विकासका कार्यक्रमले दीर्घकालीन रूपमा समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया