१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

बाख्रापालनबाट स्वरोजगार, वार्षिक लाखौँ आम्दानी



म्याग्दी । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्।

पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । “घरमै भएका दुई वटा माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको सङ्ख्या ४८ वटा पुगेको छ”, उनले भने, “वार्षिक १५ देखि २० वटाको हाराहारीमा बिक्री हुन्छ ।”

बाख्रापालन सुरु गरेपछि घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनमा सहज भएको पुनले बताए । सामाजिक काममा पनि आबद्ध पुन बाख्रापालन सुरु गर्नुअघि परम्परागत खेतीकिसानी र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनलाई बाख्रापालनमा श्रीमतीले पनि सघाइरहेकी छिन्।

अठार महिनादेखि दुई वर्षको खसीलाई तौलअनुसार १५ देखि २० हजार मूल्य पार्न सकिने पुनले बताए । बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुन्छ । धार्मिकस्थल मालिकामा बलि चढाउनका लागि पनि बोका, पाठा लैजाने गर्छन् । खसीबोकाकै हाराहारीमा पाल्ने किसानहरु पनि पाठापाठी किन्न आउँछन् ।

Shivam Cement

पुनले विसं २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका थिए। स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गरेर पाठापाठी उत्पादन गर्न उन्नत बोयर जातको बोका पालेका छन् । बोयर बोकाबाट नश्ल सुधार गरेका पाठापाठी छिटो बढ्ने, तौल धेरै हुने भएकाले आम्दानी वृद्धिका लागि सहज भएको पुनको अनुभव छ ।

Kajaria

उक्त फार्ममा बाख्राको ब्यवस्थित खोर निर्माणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एक वटा बोका उपलब्ध गराएको छ । फार्म स्थापनाका क्रममा लागेको रु १० लाख ऋण पनि खसीबोका र पाठापाठी बेचेर तिरिसकेको पुनले बताए ।

बाख्राको खोरभित्र फरक–फरक उमेर समूहका बाख्रा, बोका, खसी र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठाहरु छन् । बधुवा प्रणालीबाट बाख्रापालन गरेका पुनले आहराका लागि बहुवर्षीय डालेघाँस खेती गरेका छन् । घाँसखेती विस्तार र बाख्रापालनलाई थप व्यवस्थित गरेर निरन्तरता दिने पुनले बताए । 

प्रकाशित मिति : १५ बैशाख २०८३ मंगलबार ००:००  ६ : ५७ बजे