काठमाडौँ ।
वर्षौँदेखि यात्रुहरूका लागि ‘कष्टकर’ बन्दै आएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको यात्रा अब सहज हुने भएको छ ।
सडक विस्तारको ९२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएसँगै यात्रुले दाउन्नेको सास्तीबाट मुक्ति पाउने र बुटवलदेखि नारायणगढसम्मको यात्रा करिब दुई घण्टामै तय गर्न सकिने आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ चैत ८ गते सम्झौता भएर सुरु भएको यो आयोजनाको सुरुवाती म्याद २०७९ साउन २२ गतेसम्म थियो । तर, कोभिड महामारी, रूख कटानमा ढिलाइ, र निर्माण व्यवसायीको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि २०८१ साउन ८ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो ।
उक्त म्यादमा पनि काम नसकिएपछि दोस्रो पटक २०८२ साउन ८ सम्म म्याद थपियो । यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर २०८३ साउनसम्म थपिएको छ ।
यो म्यादभित्र भौतिक निर्माणका काम सकिए पनि रोड मार्किङलगायत सडक सुरक्षाका काम भने थप केही समय लाग्ने आयोजनाले जनाएको छ ।
कुल ११४ किलोमिटर लामो यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्डगरी दुई प्याकेजमा विभाजन गरेर विस्तार भइरहेको यो खण्डको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
ब्यो सडक ७० किलोमिटर चार लेन, २९ किलोमिटर सहरी क्षेत्रमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार गरिएको आयोजानाले जनाएको छ ।
बिटुमिन अभावले अन्तिम पूर्वी खण्डमा कालोपत्र ढिलाइ
आयोजनाको पूर्वी खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म यस खण्डको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ ।
लामो समयदेखि निर्माणाधीन यस सडक खण्डमा अहिले मुख्य संरचनाको काम सकिएर फिनिसिङको चरण सुरु भएको छ । खनालका अनुसार कालोपत्र (पिच) को काम ९९ प्रतिशत र ढल निर्माणको काम ९८ प्रतिशत सकिएको छ । त्यस्तै, साना–ठुला पुलहरूको निर्माण कार्य पनि ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
लामो समयदेखि यात्रुहरूका लागि निकै कष्टकर बन्दै आएको दाउन्ने खण्डको सुधारमा उल्लेख्य सफलता मिलेको छ । दाउन्नेको १० किलोमिटर सडक खण्डमध्ये खुर्सानी खोला नजिकैको १९० मिटर पहिरो प्रभावित क्षेत्रबाहेक अन्य सबै ठाउँमा सडक ढलान गर्ने काम सकिएको छ । साथै ९ वटा ठुला पुल र ३४ वटा साना पुल निर्माण सम्पन्न भएका छन् ।
आयोजनाले बाँकी काम तीव्र गतिमा गरिरहेको भए पनि निर्माण सामग्री अभावका कारण केही समय ढिलाइ हुने देखिएको छ । पश्चिम एसियामा चर्किको द्वन्दका कारण पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुँदा बिटुमिन (कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ) अभाव भएको छ । जसका कारण कालोपत्र प्रभावित बनेको छ । करिब ३०० मिटर सडकको दोस्रो तह (अन्तिम लेयर) को पिच गर्न बाँकी छ ।
सडक निर्माणले गति लिएसँगै अब पूर्वी खण्डमा यात्रा गर्ने यात्रुहरूले विगतमा जस्तो हिलो र धुलोको सास्ती खेप्नुनपर्ने भएको छ । सडकका अधिकांश भागमा पिच वा ढलान भइसकेकाले यात्रा सहज बनेको छ । साथै यस खण्डमा रहेका साना ठुला ३४ पुल निर्माण सम्पन्न भइसकेको छ ।
पश्चिम खण्ड पनि अन्तिम चरणमा
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्ड (बुटवल–दाउन्ने) को भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । आगामी साउन ५ गतेसम्मको म्याद रहेको यस खण्डमा बाँकी रहेका कामहरू तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
लामो समयदेखि यात्रुहरूका लागि निकै कष्टकर बन्दै आएको दाउन्ने खण्डको सुधारमा उल्लेख्य सफलता मिलेको छ । दाउन्नेको १० किलोमिटर सडक खण्डमध्ये खुर्सानी खोला नजिकैको १९० मिटर पहिरो प्रभावित क्षेत्रबाहेक अन्य सबै ठाउँमा सडक ढलान गर्ने काम सकिएको छ । साथै ९ वटा ठुला पुल र ३४ वटा साना पुल निर्माण सम्पन्न भएका छन् ।
हाल बुटवलबाट नारायणगढसम्मको यात्रा करिब दुई घण्टामा नै तय गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए । सडक विस्तारसँगै सुरक्षाका उपायहरूमा पनि काम भइरहेको छ । हाल सडकमा ‘रोड मार्किङ’को काम सुरु भइसकेको छ भने दाउन्ने खण्डमा ‘क्र्यास ब्यारियर’ लगाउने तयारी भइरहेको छ ।
त्यस्तै ६ लेनको सहरी क्षेत्रमा सर्भिस लेन निर्माणको काम पनि अगाडि बढेको छ । बर्दघाट बाहेकका क्षेत्रमा सर्भिस लेनको पहिलो कोटको काम सकिएको र मौसमले साथ दिएमा म्यादभित्रै दोस्रो कोटको काम पनि सम्पन्न हुने इन्जिनियर खनालले बताए ।
यद्यपि, केही प्राविधिक कामहरू भने मनसुनका कारण साउनपछि पनि धकेलिन सक्ने देखिएको छ । –रातोपाटीबाट







प्रतिक्रिया