२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

शाइन रेसुंगा बैंकद्वारा पावरा माविमा फिल्टर मेसिन सहयोग



वाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित शाइन रेसुंगा डेभलपमेन्ट बैंक, जीतपुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शितगंगा नगरपालिकाको पावरा माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ।

शितगंगा–१४ मा रहेको पावरा माविमा आयोजित एक कार्यक्रममा बैंकले शुद्ध खानेपानीका लागि फिल्टर मेसिन हस्तान्तरण गरेको हो। विद्यालयले लामो समयदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको अवस्थामा बैंकको सहयोगले समस्या समाधानमा महत्वपूर्ण सहयोग पुगेको विद्यालयले जनाएको छ।

बैंकको यस सहयोगप्रति वडा सदस्य तथा शिक्षकहरूले आभार व्यक्त गरेका छन्। विद्यालयका प्रधानाध्यापक नहकुल रेश्मी मगरले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै यसले विद्यालयको पठनपाठन वातावरण सुधारमा टेवा पुग्ने बताउनुभयो। उक्त सहयोगबाट करिब ३०० जना विद्यार्थी तथा शिक्षक लाभान्वित भएका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा जीतपुर शाखाका प्रबन्धक माधवराज घिमिरे, कर्मचारीहरू दीपा पोख्रेल, सन्तोष पौडेल, सन्दीप जिसी, अनिता पौडेल, रूपा चौधरी र सुजल भुसाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगेन्द्र रेश्मी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा सदस्य ओमबहादुर दर्लामी मगरलगायत स्थानीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

प्रकाशित मिति : २५ जेष्ठ २०८३ सोमबार ००:००  १० : ०६ बजे