२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

रामजी घिमिरे बने प्रदेश सरकारको प्रवक्ता



बुटवल।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले बर्दिया अस्पताल, गुलरिया अन्तर्गत प्रदेश स्वास्थ्य सेवामा मेडिकल जनरलिस्ट समूह, एघारौँ तहका डा। सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि,२०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नव नियुक्त स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय समेत गरेको छ।

बैठकमा मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८३ मंगलबार ००:००  ५ : ०३ बजे