कपिलवस्तु ।
एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एएचएफ नेपाल’ (AHF Nepal) को आयोजनामा कपिलवस्तु नगरपालिकामा सरोकारवालाहरूको समीक्षा बैठक सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस), स्वास्थ्य कार्यालय, कपिलवस्तु अस्पताल, गैरसरकारी संस्था महासंघ (एनजिओ फेडेरेसन), स्थानीय तहका प्रतिनिधि, एआरटी (ART) काउन्सेलर तथा एचआईभीको क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता थियो।
बैठकको अध्यक्षता गर्दै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले एचआईभी रोकथामका लागि कन्डमको सहज पहुँच, गुणस्तरीय परीक्षण सेवा तथा स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रिय निर्देशिकाअनुरूप सहमतिमा आधारित एचआईभी परीक्षण (कन्सेन्ट टेस्ट) तथा सेवाको गुणस्तर कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा नयाँ एचआईभी संक्रमितको संख्या क्रमशः घट्दै गएको जानकारी गराइएको छ। यस उपलब्धिलाई निरन्तरता दिन रोकथाम, समयमै परीक्षण, उपचारमा आबद्धता तथा समुदायस्तरको सचेतनामा थप जोड दिनुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रममा कुसुम थापाले जिल्लाको एचआईभीको अवस्था, रोकथाम कार्यक्रम, परीक्षण तथा उपचार सेवाको प्रगति र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतिमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (NCASC) को लक्ष्य प्राप्तिका लागि सबै निकायको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरिएको थियो।
२७ जेष्ठ २०८३ बुधबार ००:००
0
Shares







प्रतिक्रिया