मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नमुना स्थिति पत्र सार्वजनिक गरेको छ । नगरपालिकाको १९ औं नगरसभामा उक्त स्थिति पत्र सार्वजनिक गरिएको हो ।
नगरसभामा प्रस्तुत गरिएको नगरपालिकाको नमुना स्थिति पत्रमा दिगो विकासका लक्ष्य हासिल, सुशासन तथा पारदर्शिता, मानव संशाधन विकास, निकायगत प्रतिस्पर्धा, आर्थिक बृद्धि तथा उत्पादन संरचना, लगानी तथा बचतको स्थिति, राजश्व परिचालन, बजेट तथा संरचनात्मक खर्च, वित्तिय संघीयता, प्रशासनीक संघीयता, वित्तिय तथा सामाजिक क्षेत्र लगायतका विषय उल्लेख छन् ।
नगरपालिका घोषणा भएदेखी आजसम्म भएगरेका सम्पूर्ण कामको प्रगति, कमि कमजोरीसहित निकालिएको नमुना स्थितिपत्रमा आगामी कार्यदिशासमेत उल्लेख छ । समग्र पालिकाको अवस्थाको आधिकारिक दस्तावेज हो । नगरपालिकाले पहिलाेपटक स्थितिपत्र सार्वजनिक गरेको छ, यसले अहिले सम्मको अवस्था कस्तो छ भनेर देखाउछ , भावी दिनमा विकासको थप योजना निर्माणको आधार तयार गर्दछ, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले मायादेवी अनलाइनलाइ बताए ।
नगरसभामा प्रस्तुत नमुनास्थिति पत्रमा अन्तरपालिका सेवा प्रवाह तथा विकासात्मक गतिविधिका आधारमा विश्लेषण गर्दा बाणगंगा नगरपालिका प्रदेशकै नमूना स्थानीय तहको रुपमा देखिएको उल्लेख छ । नगरपालिकाको आर्थिक बृद्धिमा आन्तरिक आय १५ करोडदेखि २५ करोडसम्म रहेको, आर्थिक र सामाजिक परिवेशबाट नेपाल सरकारको कुल ग्राहस्त उत्पादन र रोजगारी श्रृजनाको वर्तमान अवस्थामा बाणगंगा नगरपालिका प्रतिस्पर्धी रहेको समेत उल्लेख छ ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले प्रस्तुत नीति तथा कार्यक्रमको आधारमा बजेट विनियोजन गरिने जानकारी दिए । नगरसभामा नगरको स्थितिपत्र समेत सार्वजनिक गरिएको भन्दै आगामी आर्थिक बर्षको बजेटलाई नगरबासीको साझा समस्या समाधान गर्न तर्फ केन्द्रीत गरिने जानकारी दिए ।







प्रतिक्रिया