मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका (दिगोपना), पोषणमैत्री स्वास्थ्य संस्था (दिगोपना) तथा अस्वस्थकर (जङ्क फुड) मुक्त विद्यालय क्षेत्र घोषणा गरिएको छ।
बाणगंगा नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
उक्त अवसरमा कपिलवस्तु जिल्लालाई पूर्णखोप तथा दिगोपन सुनिश्चित जिल्ला समेत घोषणा गरिएको छ। १५ देखि ६० महिनाभित्रका सबै बालबालिकालाई नियमित खोपको पहुँचमा पुर्याएपछि जिल्लालाई पूर्णखोप तथा दिगोपन सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले पूर्णखोप तथा दिगोपन सुनिश्चित जिल्लाको प्रमाणपत्र जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य तथा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य मन्त्री घिमिरेले मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण प्रवर्द्धन, पूर्णखोप सुनिश्चितता तथा विद्यालय तहदेखि स्वस्थ जीवनशैलीको विकासका लागि स्थानीय तहले सञ्चालन गरेका अभियानहरू उदाहरणीय रहेको बताए।
उनले यस्ता अभियानलाई दिगो रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाल, वडाध्यक्ष, पत्रकार तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले सुरक्षित मातृत्व, संस्थागत प्रसूति सेवा, पोषण सुधार, पूर्णखोप सुनिश्चितता तथा विद्यालय क्षेत्रमा अस्वस्थकर (जङ्क फुड) खानेकुराको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनपछि उक्त घोषणा गरिएको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले स्वस्थ, पोषणमैत्री, पूर्णखोप सुनिश्चित र सुरक्षित समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिँदै सबै तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।













प्रतिक्रिया