बाबुराम रायमाझी,कपिलवस्तु ।
“जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नाराका साथ अखिल नेपाल किसान महासंघ, जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव वाणगंगा नगरपालिका–९, बर्दहवामा भव्य रूपमा सम्पन्न भएको छ।अखिल नेपाल किसान महसंघका स्थायी कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि ताराजन घिमिरेले कृषि उत्पादन वृद्धि, आधुनिक तथा जलवायु मैत्री प्रविधिको प्रयोग र किसानमैत्री नीति कार्यान्वयनमार्फत मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी नेकपा (एमाले) केन्द्रीय निर्वाचन कमिटी सदस्य झबिलाल पोख्रेल, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारी र कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल लगायतका वक्ताहरूले वर्तमान राजनीतिक तथा समसामयिक विषयवस्तुमाथि प्रकाश पार्दै कृषि क्षेत्रको विकास र किसानको हितलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा स्थानीय कलाकारहरूले असारे गीत प्रस्तुत गरेका थिए। नौमती बाजाको सांगीतिक धुनसँगै सहभागीहरूले वाणगंगा–९, बर्दहवाका स्थानीय कृषक कल्पना बेल्बासेको खेतमा सामूहिक रूपमा धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाएका थिए।
रोपाइँमा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, किसान तथा सर्वसाधारणले असारे संस्कृति संरक्षणसँगै कृषिप्रति सकारात्मक सन्देश प्रवाह गरेका थिए।कार्यक्रममा वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेल, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, किसान तथा स्थानीयवासी गरी सयौँको उल्लेखनीय सहभागिता रहेको थियो।
अखिल नेपाल किसान महासंघका जिल्ला कमिटी अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षतामा अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य ताराजन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।महासंघका लुम्बिनी प्रदेश सदस्य कमल अर्यालले स्वागत मन्तव्य एबम कार्यक्रमको सहजीकरण जिल्ला सदस्य इन्द्रलाल डुम्रेले गरेका थिए ।
कार्यक्रमले परम्परागत कृषि संस्कृतिको संरक्षण, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन तथा किसानहरूको हौसला अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।













प्रतिक्रिया