कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको घटनामा कांग्रेस सांसद साह आरोपित छन् । कपिलवस्तुको कृष्णनगरमा शर्मामाथि सामूहिक आक्रमण भएको थियो ।
शाहले आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा गम्भीर आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपील जारी गर्दै सांसद शाहले विपक्षीहरूको षड्यन्त्र र चुनावी हारको पीडाका कारण आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् ।
उनले आफू निर्दोष रहेको उल्लेख गर्दै कसैलाई सहयोग गर्न जाँदाको प्रतिफल स्वरूप आफूमाथि यस्तो प्रपञ्च रचिएको बताएका छन् । ‘यो केवल एउटा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरूको षड्यन्त्र र प्रशासनलाई समेत गुमराहमा पारी मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केही होइन,’ शाहले भनेका छन् ।
उनले अगाडि थपेका छन्, ‘खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन । मलाई देशको संविधान, कानुन र सम्मानित न्यायालयप्रति पूर्ण विश्वास छ ।’
सांसद शाहले केही दिनमै सत्यता बाहिर आउने विश्वास व्यक्त गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कानुनले निर्वाध रूपमा आफ्नो काम गर्नुपर्ने र आफू विधिसम्मत रूपमा कानुनी लडाइँ लड्न तयार रहेको उनको भनाइ छ ।
आफूलाई माया गर्ने शुभचिन्तक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो । म सधैं तपाईंहरूको सेवामा विचलित नभई लाग्नेछु ।’ साथै, उनले आफ्ना समर्थकहरूलाई कानुनभन्दा बाहिरका कुनै पनि क्रियाकलाप नगर्न र धैर्यधारण गर्न विशेष अपिल समेत गरेका छन् ।







प्रतिक्रिया