३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

वातावरणमैत्री कागज उद्योगमार्फत रोजगारी सिर्जना गरेकाेमा सम्मान



जीतपुर, कपिलवस्तु।
वाणगंगा नगरपालिका ४ निवासी सामाजिक अभियन्ता सूर्य कुमारी शाहीलाइ रोजगारी सिर्जना, स्वदेशी उत्पादन प्रवर्द्धन तथा स्थानीय आर्थिक उन्नयनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मानित भएकी छन्।

लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, तौलिहवा, कपिलवस्तुले शाहीलाई सम्मान–पत्र प्रदान गरेको हो। उनले सञ्चालन गर्दै आएको सिद्धार्थ वातावरणमैत्री कागज उद्योगमार्फत स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै वातावरण संरक्षण र उद्यमशीलताको विकासमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ।

सम्मान–पत्रमा उद्योगमार्फत रोजगारी सिर्जना, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा मुलुकको आर्थिक उन्नयनमा शाहीले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि उद्यमशीलता र रोजगार प्रवर्द्धनमार्फत आर्थिक समृद्धिमा निरन्तर योगदान रहने अपेक्षा व्यक्त गरिएको छ।

यसैबीच, सम्मान प्राप्त गरेको अवसरमा सिद्धार्थ सामाजिक विकास केन्द्रले पनि शाहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संस्थाका सचिव दुर्गा अर्यालले जारी गरेको शुभकामना सन्देशमा सामाजिक रूपान्तरणको अभियानमा निरन्तर सक्रिय रहँदै सफलता र चुनौतीका अनेक अनुभवबीच वातावरणमैत्री उद्योग स्थापना गरेर सीमान्तकृत तथा अवैतनिक सेवामूलक कार्यमा सीमित महिलाहरूको रोजगारी सुनिश्चित गर्ने प्रयास अत्यन्त प्रेरणादायी रहेको उल्लेख गरेका छन्।

अर्यालको सन्देशमा भनिएको छ, रूपान्तरणमा क्रियाशील हुँदै गर्दा सफलता–असफलताको कसीमा वातावरणमैत्री उद्योग स्थापना गरी सीमान्तकृत महिलाहरूको रोजगारी सुनिश्चित गर्न गरिएको प्रयासस्वरूप उद्योगले प्राप्त गरेको यो सम्मान सम्पूर्ण सामाजिक क्षेत्रकै गौरवको विषय हो ।
संस्थाले यस सम्मानले सामाजिक उद्यमशीलता, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा दिगो रोजगारी सिर्जनाको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : ३२ असार २०८३ बिहिबार ००:००  ८ : ५१ बजे