तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थायी घर सल्यानको माल्टा भई हाल तुलसीपुर–९ दोहोर्रे बस्ने कमल गिरी र घनश्याम गिरी रहेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार मृतक कमल ठेकेदार र घनश्याम मिस्त्री हुन्। दुवै जनाले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। मृतक दुवै जना काका-भतिज (दाजुभाइका छोरा) रहेको प्रहरीले जनाएको छ।
निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निसासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। ट्याङ्कीभित्र छिर्दा भर्याङ नराखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजन अभावमा मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।
स्थानीयले पानी ट्याङ्कीमा मानिस रहेको देखेपछि बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए। उक्त निर्माणाधीन घर मनिराम चन्दको भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया