४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

कपिलवस्तुमा ३१औँ राष्ट्रिय बालसाहित्य सम्मेलन हुने



कपिलवस्तु ।
नेपाल बालसाहित्य समाजको आयोजनामा आगामी मङ्सिर ११ र १२ गते कपिलवस्तुको सदरमुकाम तौलिहवामा ३१औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ । यस पटकको सम्मेलन एसियास्तरमै दोस्रोपटक आयोजना हुन लागेको र जसमा नेपाल सहित एसियाका ७ देशका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । सम्मेलनको तयारीका लागि स्थानीय मूल आयोजक समिति गठन भई आवश्यक व्यवस्थापनका कामहरू अघि बढाइएको स्थानीय मूल आयोजक समितिका संयोजक मिनराज बेल्बासेले जनाउनुभएको छ ।

समाजका अध्यक्ष विजयराज आचार्य तौलिहवा पुगेर आइतबार स्थानीय आयोजक सहित पत्रकार सम्मेलन गरी सम्मेलनको पोस्टर सार्वजनिक गर्नुभएको थियो । स्थानीय संयोजक मिनराज बेल्बासेले प्रेस वक्तव्य जारी गरी सम्मेलनबारे प्रकाश पार्नुभएको थियो । पत्रकार सम्मेलनमा बरिष्ठ साहित्यकार हरिराज शर्मा ९हरास०, नव कपिलवस्तु साहित्य समाजका अध्यक्ष पशुपतिमणी त्रिपाठी, लुम्बिनी वाङमय प्रतिष्ठानका राघवेन्द्र कुमार श्रीवास्तव, लघु कथा केन्द्र लुम्बिनी प्रदेशका इन्दिरा देवकोटा, सिर्जनशील नारी साहित्य समाजका शकुन्तला पौडेल, तेज कुमार बौद्धाचार्य मेमोरियल ट्रष्टका ससुमयी शाक्य, माला गोतामे, जुवेर अहमद लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन मङ्सिर ११ गते प्रभातफेरीसहित सुरु हुनेछ । उद्घाटन समारोहमा नयाँ बालपुस्तक लोकार्पण, पुस्तक प्रदर्शनी, नृत्य तथा झाँकी प्रस्तुति, शुभकामना मन्तव्य लगायतका कार्यक्रमहरू समावेश हुनेछन् । सम्मेलन अवधिभर बालबालिकाले कथा, कविता, चित्रकला, अभिनय, हस्तलिपि आदिमा सहभागिता जनाउने कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

मङ्सिर ११ र १२ गते भने सम्मेलनअन्तर्गत विभिन्न साहित्यिक कार्यशालाहरू—जसमा कथा, कविता, निबन्ध लेखनदेखि चित्रकला र नृत्य प्रशिक्षणसम्म—आयोजना गरिनेछ । सहभागीबाट सुझाव, प्रतिक्रिया तथा ’कपिलवस्तु घोषणापत्र’ जारी गरी सम्मेलनको समापन मङ्सिर १२ गते गरिने स्थानीय संयोजक मिनराज बेल्बासेले बताउनुभएको छ ।

नेपाल बालसाहित्य समाजले देशैभर बालबालिका र किशोरकिशोरीको सिर्जनशीलता, लेखनकला, पठन संस्कृति तथा साहित्यिक अभिरुचिको विकासका लागि सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनको प्रमुख उद्देश्य बालबालिका र किशोरकिशोरीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नु, बालसाहित्यप्रति अभिभावक, शिक्षक तथा विद्यार्थीमा रुचि र चेतना विकास गर्नु, पुस्तकालय व्यवस्थापन तथा बालपुस्तक प्रकाशनप्रति अभिप्रेरणा दिनु रहेको आयोजक समितिले जनाएको छ । कपिलवस्तुको साहित्यमैत्री इतिहासमा एउटा कोशेढुंगा बन्ने अपेक्षा गरिएको यस सम्मेलनले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने आयोजकहरूको विश्वास छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३ आइतबार ००:००  ५ : ५४ बजे