कपिलवस्तु । हरिशयनी एकादशीको पावन अवसरमा कपिलवस्तुको ४ नं. जीतपुरमा आयोजित ‘युवा भजन साँझ २०८३’ भव्य तथा श्रद्धापूर्वक सम्पन्न भएको छ। कपिलवस्तु युवा भजन समूहको आयोजनामा, हिमवत प्रतिष्ठान नेपालको सहयोग तथा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्वमा सम्पन्न कार्यक्रममा हजारौँ भक्तजनको उत्साहजनक सहभागिताले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो।
कार्यक्रमको शुभारम्भ बटुक ब्राह्मणहरूद्वारा वैदिक स्वस्तिवाचन, दीप प्रज्वलन तथा तुलसी रोपण गरी गरिएको थियो। उद्घाटनका यी वैदिक एवं धार्मिक विधिहरूले कार्यक्रममा आध्यात्मिक गरिमा थपेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्याल रहनुभएको थियो। उहाँले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा नैतिकता, सद्भाव, अनुशासन र आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
शुभकामना मन्तव्यका क्रममा श्री सुशीलसिंह ठकुरीले युवाहरूलाई भजन, सत्सङ्ग र संस्कारमूलक गतिविधिमा सक्रिय रहँदै समाजलाई सकारात्मक दिशामा अघि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन हिमवत प्रतिष्ठान नेपालका आचार्य कमल पौडेलले गर्नुभएको थियो। उहाँले हरिशयनी एकादशीको धार्मिक महत्त्व, तुलसीको आध्यात्मिक गरिमा तथा सामूहिक हरिनाम सङ्कीर्तनको प्रभावबारे प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा आध्यात्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय भजन गायक दिवाकर भण्डारी समूहद्वारा प्रस्तुत गरिएको भावपूर्ण हरिनाम सङ्कीर्तन तथा भजन, भगवान शिवको महिमालाई झल्काउने ताण्डव नृत्य, मनमोहक श्रृङ्गारिक आरती तथा कपिलवस्तु युवा भजन समूहद्वारा प्रस्तुत भक्तिमय भजनहरूले उपस्थित भक्तजनलाई भावविभोर बनाएका थिए। भजन, नृत्य र आरतीको मनमोहक प्रस्तुतिले सम्पूर्ण कार्यक्रमस्थल आध्यात्मिक ऊर्जा र भक्तिरसले भरिएको थियो।
आयोजक संस्थाले धर्म, संस्कृति, संस्कार र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई अझ व्यापक रूपमा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागी भक्तजनहरूले पनि कार्यक्रमलाई अत्यन्त सफल, अनुकरणीय र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।








प्रतिक्रिया