मायादेवी अनलाइन, लुम्बिनी ।
खाद्य सुरक्षा तथा पोषणका विषयमा प्रमाणमा आधारित पत्रकारिता र प्रभावकारी पैरवी प्रवद्र्धन गर्ने उद्देश्यसहित कपिलवस्तुका पत्रकारहरूले पाँचबुँदे सामूहिक प्रतिबद्धता जनाएका छन् ।
लुम्बिनीमा सम्पन्न दुईदिने ‘खाद्य तथा पोषणसम्बन्धी तथ्यमा आधारित पैरवी प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यशालाको समापनका अवसरमा पत्रकारहरूले खाद्य सुरक्षा, पोषण तथा खाद्य अधिकारका विषयलाई आफ्नो सञ्चार माध्यममार्फत प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रतिबद्धताअनुसार पत्रकारहरूले प्रमाणमा आधारित खोजमूलक पत्रकारिता मार्फत खाद्य सुरक्षा तथा पोषणका मुद्दालाई सशक्त रूपमा उठाउने, आफू कार्यरत सञ्चार माध्यममा यस्ता विषयलाई प्राथमिकता दिने, खाद्य तथा पोषण क्षेत्रमा कार्यरत संघ–संस्थासँग सहकार्यलाई निरन्तरता दिने, तीनै तहका सरकारलाई जिम्मेवार बनाउन तथ्यमा आधारित समाचार सम्प्रेषण गर्ने तथा खाद्य अधिकार, पोषण र खाद्य सम्प्रभुतासम्बन्धी ऐन–कानुन कार्यान्वयनका लागि सरोकारवाला निकायमाथि मिडियामार्फत रचनात्मक दबाब सिर्जना गर्ने उल्लेख गरेका छन् ।
कार्यशालामा स्वास्थ्य पत्रकार पदमराज श्रेष्ठले प्रमाणमा आधारित खाद्य तथा पोषण पैरवीमा सञ्चार माध्यमको भूमिकाबारे सहजीकरण गर्दै नेपालको पत्रकारितामा अझै पनि खाद्य सुरक्षा र पोषणजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयले अपेक्षित प्राथमिकता नपाएको बताउनुभयो ।
उहाँले नेपालको पत्रकारिता अझै पनि ‘३ पी’ पोलिटिक्स, पावर र पोजिसन केन्द्रित रहेको उल्लेख गर्दै कुपोषण, खाद्य असुरक्षा र पोषणसम्बन्धी समस्यालाई राज्यको ध्यानाकर्षण गराउन सञ्चार माध्यमले अनुसन्धान र तथ्यमा आधारित समाचारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
श्रेष्ठले नेपालका धेरै क्षेत्रमा विशेषगरी महिला तथा बालबालिकामा कुपोषणको समस्या अझै गम्भीर रहेको उल्लेख गर्दै पर्याप्त खाद्यान्न उत्पादन हुने जिल्लामा समेत कुपोषण देखिनु चिन्ताको विषय भएको बताउनुभयो । पोषणसम्बन्धी ज्ञानको अभाव र सन्तुलित आहारबारे पर्याप्त जानकारी नहुँदा पनि समस्या बढिरहेको भन्दै पत्रकारिताले यस्ता विषयलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा सहभागी पत्रकारहरूले खाद्य अधिकार, पोषण र खाद्य सुरक्षासम्बन्धी विषयमा सञ्चार माध्यमको भूमिका, चुनौती र सम्भावनाबारे छलफल गरेका थिए ।
साउन ९ र १० गते लुम्बिनीमा सम्पन्न कार्यशालामा विभिन्न संघ–संस्थाका प्रतिनिधिसँगै कपिलवस्तुका दर्जनौँ पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य तथा पोषण सुशासन परियोजनाकी कमला सापकोटा, किड्सका परियोजना संयोजक गोपाल कडेल तथा सुधारिएको परियोजनाका संयोजक अशोक लम्सालले जिल्लाको पोषण अवस्था, परियोजनाका गतिविधि तथा मिडियाको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।
समापन कार्यक्रममा आरएनएनकी मदिना पौडेलले पत्रकारितालाई समयानुकूल डिजिटल प्रविधिमैत्री बनाउँदै तथ्यमा आधारित सामग्री उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुको पत्रकारितामा अब खाद्य सुरक्षा, पोषण र खाद्य अधिकारका विषयलाई पनि मुख्य समाचार एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै तथ्यमा आधारित पत्रकारिताबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन पत्रकारहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया