१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गजेहडामा डेङ्गी नियन्त्रण अभियान: लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट



कपिलवस्तु ।

बाणगङ्गा, कपिलवस्तु, साउन ११ डेङ्गी रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाणगङ्गा नगरपालिका–४ गजेहडामा लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सम्पन्न गरिएको छ।

बाणगङ्गा नगरपालिकाको आयोजनामा तथा फेरमेड र कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा सञ्चालन गरिएको अभियानअन्तर्गत गजेहडा बजार क्षेत्रका घर, पसल, सार्वजनिक स्थल तथा पानी जम्न सक्ने स्थानहरूमा खोजी गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गरिएको हो।

अभियानमा वडा नं. ४ का अध्यक्ष छवि रेश्मी मगर, वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सुरक्षाकर्मी, युवा, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले डेङ्गी सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने भएकाले घर तथा आसपासका क्षेत्रमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

बाणगङ्गा नगरपालिकाले डेङ्गी नियन्त्रणका लागि जनचेतनामूलक तथा सरसफाइ केन्द्रित यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। स्थानीयवासीले पनि सामूहिक प्रयासबाट मात्र डेङ्गीजस्ता सरुवा रोगको जोखिम न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८३ मंगलबार ००:००  ७ : ५४ बजे