कपिलवस्तु।
वाणगंगा नगरपालिकाले २०८३ असार १६ गते विद्यालय क्षेत्रलाई अस्वस्थकर पत्रु खाना (जंक फुड) मुक्त क्षेत्र घोषणा गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिने उद्देश्यले वाणगंगा नगरपालिका–९ स्थित शुद्धोधन माध्यमिक विद्यालय, जिनुवामा विद्यार्थी लक्षित सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझीले जंक फुडको अत्यधिक प्रयोगले बालबालिकाको स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराएका थिए। उनले जंक फुडको सेवनले मोटोपना, मधुमेह, उच्च रक्तचाप, पाचन प्रणालीमा समस्या तथा विभिन्न दीर्घरोगको जोखिम बढ्ने भएकाले विद्यार्थीहरूले सकेसम्म आफ्नै घरमा उत्पादन भएका ताजा, स्वच्छ र पोषणयुक्त खानाको प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
रायमाझीले विद्यालय उमेरका बालबालिकामा सही खानपानको बानी विकास गर्नु भविष्यमा स्वस्थ नागरिक निर्माणको महत्वपूर्ण आधार भएकाले अभिभावक, शिक्षक र विद्यार्थी सबैले पोषणयुक्त खानालाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कौलेश्वर प्रसाद मिश्रा स्वास्थ फोकल शिक्षक विमला भट्टराई, पोषण फोकल पर्सन गोमा रायमाझी तथा पत्रकार बाबुराम रायमाझीको सहभागिता रहेको थियो। सहभागी टोलीले प्रशिक्षणसँगै विद्यार्थीहरूले ल्याउने खाजा तथा विद्यालयको चमेना गृहको समेत अनुगमन गरी पोषणयुक्त, स्वच्छ र स्वस्थकर खाद्य सामग्रीको प्रयोगलाई प्राथमिकता दिन आवश्यक सुझाव प्रदान गरेको थियो।
विद्यालय प्रशासनले नगरपालिकाको जंक फुडमुक्त विद्यालय क्षेत्र अभियानलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै विद्यार्थीमा स्वस्थ जीवनशैलीको विकास गर्न नियमित रूपमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ। सहभागीहरूले पनि विद्यालय, अभिभावक र समुदायको संयुक्त प्रयासबाट मात्रै जंक फुडको प्रयोग न्यूनीकरण गरी बालबालिकाको स्वास्थ्य सुधार गर्न सकिने धारणा व्यक्त गरेका थिए।







प्रतिक्रिया