कपिलवस्तु ।
शिवराज नगरपालिकामा श्रमिक मजदुरहरु संगठित हुन थालेपछि पालिकाले उनीहरुको हक अधिकारको लागि प्राथमिकता दिएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले श्रमिकहरूको समस्यालाई लिएर नगरपालिकाले कानुन निर्माण गर्ने बताउनुभयो । कामदारहरुको न्युनतम ज्याला, विमा, कार्यस्थलमा सुरक्षा लगाएतको विषयमा शिवराज नगरपालिकाले मुख्य चासो देखाएको नगर प्रमुख थापाले बताउनुभयो ।
नागरिक मञ्चको आयोजनामा तथा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहजीकरणमा श्रमिकहरूको अवस्था सम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै स्थानीय सरकारसँग संवाद तथा अन्तरक्रिया मार्फत ध्यानाकर्षण गराइएको थियो । स्थानीय जनप्रतिनिधि, सरोकारवाला, नागरिक समाजका अगुवाहरूको सहभागिता संचालित कार्यक्रममा श्रमिकहरूले पेटि ठेकेदार मार्फत काम गर्नुपर्ने भएकोले विभिन्न समस्या, विभेद, हिंसामा पर्नुपरेको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिनुभयो । श्रम अधिकारको वर्तमान अवस्था, श्रमिकहरूले भोगिरहेका समस्या तथा अध्ययनबाट प्राप्त मुख्य निष्कर्षबारे सहायक कार्यक्रम अधिकृत संजिव गहतराजले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा स्थानीय तहले श्रमिकमैत्री नीति, योजना तथा कार्यक्रम निर्माणमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने अधिकार कर्मि मिना परियार, श्रम अभियान्ता यशोदा नेपाली लगाएतले जोड दिइएको थियो।
सहभागीहरूले श्रमिकको हकहित संरक्षण, सुरक्षित रोजगारी, सामाजिक सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नागरिक मञ्चका संयोजक थानेश्वर खनालको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत मन्तब्य मणिराम उपाध्याय तथा संचालन विपना भुषालले गर्नुभएको थियो ।







प्रतिक्रिया