१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

कपिलवस्तुमा धार्मिक सद्भाव कायम राख्न आठबुँदे साझा प्रतिबद्धता



कपिलवस्तु।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बिहीबार सम्पन्न धार्मिक अगुवा, सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवाला निकायहरूको समन्वय तथा सद्भाव बैठकले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्ने उद्देश्यसहित आठबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ।

बैठकले कपिलवस्तुमा रहेको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै सबै धर्म, जातजाति, समुदाय र वर्गबीच आपसी सम्मान, सहिष्णुता, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउन सबै पक्ष संयुक्त रूपमा प्रतिबद्ध रहने निर्णय गरेको छ।

यस्तै, धार्मिक, जातीय वा साम्प्रदायिक द्वेष, घृणा तथा असहिष्णुता फैलाउने उद्देश्यले गरिने कुनै पनि अभिव्यक्ति, भाषण, गतिविधि, सभा, जुलुस, प्रदर्शन, उक्साहट वा प्रचार–प्रसार नगर्ने तथा यस्ता गैरकानुनी कार्यमा संलग्न जो–कोहीलाई प्रचलित कानुनबमोजिम निष्पक्ष र प्रभावकारी कारबाही गरिने उल्लेख गरिएको छ।

प्रतिबद्धतामा सामाजिक सञ्जाल, अनलाइन तथा सञ्चार माध्यमको जिम्मेवार र मर्यादित प्रयोग गर्न आग्रह गर्दै अफवाह, भ्रामक सूचना, उत्तेजनात्मक सामग्री, धार्मिक वा साम्प्रदायिक भावनामा आँच पुग्ने तथा राष्ट्रिय एकतामा प्रतिकूल असर पार्ने सामग्री प्रकाशन, प्रसारण वा शेयर नगर्न सबैलाई अनुरोध गरिएको छ। यस्ता गतिविधिमाथि सम्बन्धित निकायले नियमित निगरानी राख्ने र कानुनी कारबाही गरिने पनि जनाइएको छ।

बैठकले जिल्लाभित्र सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय र स्वीकृति लिएर शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। साथै सार्वजनिक शान्ति र सामाजिक सद्भावलाई ध्यानमा राख्दै अत्यधिक ध्वनि प्रदूषण हुने गरी लाउडस्पिकर, ब्याण्डबाजा वा अन्य उच्च ध्वनि उत्पन्न गर्ने उपकरण प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी कुनै पनि धार्मिक वा सामुदायिक विवाद, सार्वजनिक शान्ति भंग हुने गतिविधि वा हिंसात्मक घटनामा कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै दोषी जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकले सबै धर्मका धार्मिक अगुवा, मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा अन्य धार्मिक संस्थाहरूलाई आफ्ना अनुयायीहरूलाई शान्ति, संयमता, सहिष्णुता, कानुनी शासनको सम्मान तथा सामाजिक सद्भाव कायम राख्न प्रेरित गर्न तथा कुनै पनि प्रकारका उत्तेजनात्मक, विभेदकारी वा घृणायुक्त अभिव्यक्ति नगर्न सार्वजनिक अपिल गर्न आग्रह गरेको छ।

साथै धार्मिक अगुवा, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार माध्यम तथा अन्य सरोकारवालाले कपिलवस्तुमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न निरन्तर समन्वय, सहकार्य र साझा जिम्मेवारीका साथ अघि बढ्ने तथा धार्मिक, जातीय वा साम्प्रदायिक हिंसा, घृणा, असहिष्णुता र कानुनविपरीतका सबै गतिविधिलाई पूर्ण रूपमा अस्वीकार गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३ बिहिबार ००:००  ७ : ५५ बजे