रेसुङ्गा । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण भएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र ३ जोड्ने फलाँटे–भटकुवा झोलुङ्गे पुल स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत निर्माण गरिएको हो।
आठ करोड ८५ लाख ३४ हजार ८४८ रुपियाँ लागत रहेको उक्त पुल निर्माणको जिम्मा भीमशिखर हिरा कन्स्ट्रक्सन प्रालिले पाएको हो। पुल निर्माणका लागि २०८२ असार ३ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार १९ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ९१ प्रतिशत काम सकिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलका इन्जिनियर राजु थापा मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार पुल ५२५.१ मिटर लामो छ। यो सिङ्गल स्पान प्रविधिमा निर्माण भएको नेपालकै दोस्रो लामो झोलुङ्गे पुल भएको उहाँको दाबी छ।
टापु क्षेत्रमा रहेकाले भटकुवालाई रुरुको ‘श्रीलङ्का’ भन्ने गरिन्छ। करिब २८० घरधुरी रहेको भटकुवा सडक सञ्जालको पहुँचबाट निकै टाढा थियो। अझै पनि यहाँ सडकको पहुँच सहज छैन।
अप्ठ्यारो भूगोल र असहज यातायातका कारण गाउँ छाड्ने क्रम बढिरहेका बेला भटकुवालाई मदन भण्डारी राजमार्गसँग जोड्ने गरी निर्माण भएको पुलले स्थानीयलाई ठुलो राहत पुगेको रुरुक्षेत्र गाउँपालिका–१ भटकुवाका ५६ वर्षीय हुमनाथ ज्ञवालीले बताउनुभयो।
“यो पुल बनेपछि भटकुवाबासी १० देखि २५ मिनेटमै मदन भण्डारी राजमार्गमा पुग्छन्। पहिले सडकको पहुँचमा पुग्न डेढदेखि दुई घण्टा लाग्थ्यो। हाम्रो सबैभन्दा ठुलो सपना पूरा भएको छ,” उहाँले भन्नुभयो।
ग्वादी र थोर्गा गाउँ नजिकै भए पनि तालखोलाका कारण आवतजावत गर्न डेढ घण्टासम्म लाग्ने गरेको थियो। खोला र जङ्गलका कारण स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। विसं २०४२ मा ऋषि बहादुर विक र नेउसी विक (बाबुछोरी) को ताल खोलाले बगाएर मृत्यु भएको स्थानीय बताउँछन्।
गोरु र मानिससमेत बगाउने गरेको ताल खोला तरेर खेत रोप्न जाने र फर्कने थोर्गावासीलाई घर पुग्ने–नपुग्ने चिन्ता हुने गरेको थियो। रुरुक्षेत्र गाउँपालिका–२ ग्वादीकी ५६ वर्षीया विष्णु भण्डारी त्यस समयकी साक्षी हुनुहुन्छ।
“खेत रोपेर फर्किँदा २०५६ सालमा आँखैअगाडि ताल खोलाले गोरु बगायो। पहिले–पहिले मानिससमेत मरे। अहिले पुल बनेपछि विगतका सबै दुःख बिर्साएको छ,” उहाँले भन्नुभयो।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पुलले आवतजावत सहज बनाउनुका साथै पर्यटकीय विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
“यो सिङ्गल स्पान प्रविधिमा निर्माण भएको देशकै दोस्रो लामो पुल हो। यसले दुर्गम क्षेत्रलाई सुगम बनाउन र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो।
रुरुक्षेत्रका विभिन्न स्थानमा यसअघि पनि झोलुङ्गे पुल निर्माण भएका छन्। गाउँपालिका अध्यक्ष ज्ञवालीका अनुसार स्थानीय तह गठनपछि रुरुक्षेत्र गाउँपालिका–१ र २ जोड्ने ३४२ मिटर लामो ग्वादी–थोर्गा पुल, रुरुक्षेत्र–५ र सत्यवती गाउँपालिका–५ जोड्ने १५९ मिटर लामो छम्दी–खैरेनी पुल, ग्वादी देउराली–कोलौदी जोड्ने १४३ मिटर लामो पुल तथा रुरुक्षेत्र–१ र ३ जोड्ने ३४२ मिटर लामो गोलपोखरी–चौरीफाँट पुल निर्माण भएका छन्। अझै विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो।







प्रतिक्रिया