कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख, कपिलवस्तु र रुपन्देहीका उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्सका प्रतिनिधि र सञ्चारकर्मीसहितको २० सदस्यीय टोली नौ दिने चीन भ्रमण सकेर स्वदेश फर्किएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलको नेतृत्वमा गएको टोलीले चीनका तीन प्रान्तका प्रमुख शहर तथा विभिन्न सरकारी उद्योग–व्यवसाय र कारखानाको अध्ययन तथा अवलोकन गरेको हो।
भ्रमणका क्रममा टोलीले ग्वाङदाेग, नान्जिङ र हुनान प्रान्तका विभिन्न स्थानको अवलोकन गरेको थियो। ग्वाङ्झाउमा छुहान चेम्बर अफ कमर्ससँग औपचारिक भेटघाट तथा छलफल गर्नुका साथै मूर्ति निर्माण गर्ने चिनियाँ सरकारी कारखाना एरोसिन आर्ट इन्जिनियरिङ कम्पनीको अवलोकन गरेको थियो। त्यसैगरी एनपीजीएस हेल्थ इन्डस्ट्री, परम्परागत चिनिया स्वास्थ्य उपचार सेन्टर, एभिएसन ड्रोन कम्पनी, नुडल्स, लगेज तथा कस्मेटिक उद्योगलगायतका विभिन्न उद्योग तथा व्यवसायको पनि अध्ययन गरिएको टोलीले जनाएको छ।
भ्रमणका क्रममा कपिलवस्तुको जगदीशपुर क्षेत्रमा प्रस्तावित विश्वकै अग्लो २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माण परियोजनाबारे समेत चिनियाँ पक्षसँग छलफल भएको छ। प्रदेशसभा सदस्य पन्थीले उक्त परियोजना सफल बनाउन सके लुम्बिनी प्रदेशकै आर्थिक तथा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो।
करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनाका लागि सरकारी लगानी आवश्यक रहेको बताउँदै पन्थीले सरकार–सरकार (G2G) तथा अन्य सम्बन्धित संघ–संस्थाको सहकार्यमा परियोजना अघि बढाउन सकिने सम्भावना रहेको बताउनुभयो। चीन सहित, हङकङ, थाइल्यान्ड, सिङ्गापुर, मलेसिया र भारतका लागि मूर्ति बनाएको उक्त कम्पनी एरोसिन आर्ट इन्जिनियरिङ कम्पनीले समेत परियोजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो।
सांसद पन्थीका अनुसार परियोजनाको प्रारम्भिक प्रक्रिया धेरै पहिलेदेखि अघि बढे पनि सरकारी प्रक्रिया, परियोजना कार्यान्वयनको मोडल र आवश्यक जग्गा प्राप्तिसम्बन्धी विषयमा स्पष्टता आवश्यक रहेकाले ढिलाइ भएको हो। जग्गा प्राप्तिमा देखिएको समस्यालाई समाधान गर्दै लुम्बिनी प्रदेश सरकारले नै परियोजनाको अपनत्व लिएर फरक मोडलबाट काम अघि बढाउन सकिने उहाँको भनाइ छ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको जनाइएको छ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले चीन भ्रमणका क्रममा सरकारी मूर्ति कारखानासहित विभिन्न उद्योग तथा कलकारखानाको अवलोकनबाट स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने धेरै सम्भावना र अवसरबारे सिकाइ भएको बताउनुभयो।
उहाँले कपिलवस्तुमै विश्वकै अग्लो बुद्धमूर्ति निर्माण गर्न सके जिल्लाको पहिचानमा ठूलो परिवर्तन आउने र कपिलवस्तु विश्व मानचित्रमा थप स्थापित हुने बताउनुभयो।

इन्टरनेसनल बुद्धिस्ट सेन्टरका विदेश प्रमुख स्टेवाडले पर्यटनका माध्यमबाट कपिलवस्तु र लुम्बिनीको विकासको सम्भावना उच्च रहेकाले यसतर्फ सबै पक्षले चासो दिनुपर्ने बताउनुभयो। उहाँकै समन्वयमा नेपाली टोलीले चिनियाँ सरकारी मूर्ति निर्माण कारखानाको भ्रमण तथा विभिन्न अन्तर्राष्ट्रियस्तरका उद्योग–कलकारखानाको अवलोकन गरेको थियो।
चीन भ्रमणका क्रममा नेपाली टोलीलाई चिनियाँ सरकारी निकाय तथा उद्योग वाणिज्य संघका प्रतिनिधिले भव्य स्वागत तथा सत्कार गरेका थिए। भ्रमणले नेपाल–चीनबीचको औद्योगिक, व्यापारिक तथा पर्यटनसम्बन्धी सहकार्यका सम्भावनाबारे अध्ययन तथा अनुभव आदानप्रदानमा सहयोग पुगेको भ्रमण टोलीका सदस्य रूपन्देही उद्याेग संघका अध्यक्ष कृष्ण पराजुलीले बताउनुभयाे ।







प्रतिक्रिया