भलवाड, भदौ ९ ।
बारा जिल्लामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या घटनाको विरोध तथा दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै देशभर भइरहेका विरोध कार्यक्रमअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवामा पनि दीप प्रज्वलन गरिएको छ।
स्टोमा फाउन्डेसन नेपालको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालित वडा स्तरीय किशोर–किशोरी तथा युवा सञ्जालको आयोजनामा जिनुवा चोकमा दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा स्वर्गीय बालिका गरिमा चौधरीको आत्माको चिरशान्तिको कामना गर्दै ६ वर्षीया बालिकामार्फत दीप प्रज्वलन गरिनुका साथै घटनामा ज्यान गुमाएकी बालिकाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
दीप प्रज्वलन कार्यक्रममा किशोर–किशोरी तथा युवा सञ्जालका सदस्य, पत्रकार, अभिभावक, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा, दुर्व्यवहार तथा हत्याजस्ता जघन्य घटनाको अन्त्यका लागि राज्यका निकाय गम्भीर बन्नुपर्ने बताएका थिए। साथै, बालबालिकाको सुरक्षा र संरक्षणका लागि परिवार, समुदाय तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ रहेको थियो ।
कार्यक्रम वडा स्तरीय किशोर–किशोरी तथा युवा सञ्जालकी अध्यक्ष आशिका खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव प्रशंसा चौधरीले सञ्चालन गरेकी थिइन्।दीप प्रज्वलनमार्फत सहभागीहरूले स्वर्गीय गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए।








प्रतिक्रिया