१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

शिवराजमा निःशुल्क शिक्षाको निरन्तरतामा चुनौती, गुणस्तर सुधारमा जोड



दिपा महत, कपिलवस्तु ।
शिवराज नगरपालिकामा निःशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयनका अवसर, चुनौती र भावी कार्यदिशाबारे शिक्षा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
शिवराज नगरपालिकाको आयोजना तथा किर्डाक नेपाल र स्ट्रोम फाउण्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा शिक्षाविद्, जनप्रतिनिधि, गैरसरकारी संस्था, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच निःशुल्क शिक्षाको प्रभावकारिता, चुनौती र निरन्तरताका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षाविद् तथा प्राध्यापक डा. विद्यानाथ कोइरालाले बदलिँदो समयअनुसार शिक्षण सिकाइको परम्परागत शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै पुरानै शैली र तौरतरिकाबाट मात्रै शिक्षण गर्दा विद्यार्थीले प्रभावकारी रूपमा सिक्न नसक्ने बताउनुभयो ।

शिक्षकले समयअनुसार आफूलाई परिमार्जन र परिस्कृत गर्न नसके शिक्षण क्षेत्रमा पछाडि पर्ने चेतावनी दिँदै डा. कोइरालाले शिक्षाको परिणामप्रति जिम्मेवार निकायले जिम्मेवारी लिन नचाहने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘हुँदैन’ र ‘सकिँदैन’ भन्ने मानसिकताबाट माथि उठेर शिक्षाको गुणस्तर सुधारमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।

शिवराज नगरपालिकाले सञ्चालन गरेको निःशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भए पनि त्यस क्रममा देखिएका चुनौती समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आफूले पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गरेको बताउनुभयो । आफूले प्रचारप्रसार वा स्टन्टका लागि नभई नगरको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको उहाँको भनाइ थियो ।

राज्यले नागरिकलाई शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाबाट वञ्चित गर्न नहुने बताउँदै नगर प्रमुख थापाले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि समान र निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो । देशको समग्र विकासका लागि शिक्षाको विकास पहिलो प्राथमिकता हुनुपर्ने उहाँले बताउनुभयो । “नेपालमा शिक्षा सबै वर्गका लागि समान र एकै किसिमको हुनुपर्छ । स्वास्थ्य सेवा पनि हरेक नागरिकले निःशुल्क रूपमा पाउनुपर्छ,” उहाँले भन्नुभयो ।

शिवराजमा शिक्षाको विकासका लागि आफूहरू सुरुदेखि नै सक्रिय रहेको बताउँदै थापाले गुणस्तरीय निःशुल्क शिक्षाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीच हातेमालो आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा निःशुल्क शिक्षा कार्यान्वयन , यसको प्रभावकारिता तथा निरन्तरताका चुनौतीबारे प्यानल छलफलसमेत गरिएको थियो। छलफलमा नगर प्रमुख थापा, किर्डाक नेपालका गोविन्दबहादुर शाही, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुकी दिपा महत सहभागी हुनुहुन्थ्यो। छलफलको सहजीकरण गोरखापत्र संस्थानका सहसम्पादक प्रकृति अधिकारीले गर्नुभएको थियो।

छलफलमा शिवराज नगरपालिकाले सञ्चालन गरेको निःशुल्क शिक्षाबाट लाभान्वित वर्ग, कार्यक्रमको आवश्यकता तथा औचित्य, प्रभावकारिता, चुनौती र आगामी दिनमा निरन्तरता दिन अपनाउनुपर्ने उपायका विषयमा सवालजवाफ गरिएको थियो। सहभागीहरूले नगर प्रमुखसँग निःशुल्क शिक्षा कार्यक्रमसँग सम्बन्धित विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थि,

शिवराज नगरपालिकाका उपसचिव तथा शिक्षा प्रमुख पूर्णबहादुर विश्वकर्माले नगरपालिकाको शैक्षिक अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले निःशुल्क शिक्षा कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित भए पनि कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिन चुनौती रहेको बताउनुभयो।

दिगो स्रोत व्यवस्थापन, अविश्वासको खाडल, विद्यालयको खर्च व्यवस्थापन, विद्यालय समायोजनप्रतिको असन्तुष्टि तथा शिक्षाको गुणस्तर कायम गर्ने विषयलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको उहाँले बताउनुभयो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका महासचिव देवी खड्का, शिक्षा एकाइका प्रमुख माधव बन्जाडे, किर्डाक नेपालका गौतमराज अधिकारी तथा मौलाना मसहुद खाँलगायतले मन्तव्य राख्नुभएको थियो। मौलाना मसहुद खाँले राज्यले मदरसा शिक्षा र मौलानामाथि विभेद गरेको गुनासो गर्नुभयो।

किर्डाक नेपालका शिक्षा संयोजक विष्णु भुसालले सञ्चालन गर्नुभएको कार्यक्रममा शिवराज नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १० भदौ २०८३ बुधबार ००:००  १० : ११ बजे