८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

वाणगंगा–९ को भलवाडमा सराय नाच भव्य रूपमा सम्पन्न



बाबुराम रायमाझी, भलवाड।

कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाडस्थित दुर्गा भगवती मन्दिरमा विजयादशमीको त्रयोदशीका दिन परम्परागत सराय नाच भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको सराय नाचमा स्थानीय युवायुवतीदेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता रहेको थियो।

सराय नाचका क्रममा सहभागीहरूले हातमा खुडा तथा तरबार लिएर नौमती बाजाको तालमा ‘डुङ–डुङ, ह्वाख्खै’ भन्दै मन्दिरको परिक्रमा गरेका थिए। परम्परागत बाजागाजाको धुन, सहभागीहरूको उत्साह र धार्मिक वातावरणले भलवाड क्षेत्रलाई उल्लासमय बनाएको थियो।वडा दशैँको अवसरमा दुर्गा भगवती मन्दिरमा विधिपूर्वक भित्र्याइएको फूलपातीलाई त्रयोदशीका दिन धार्मिक तथा वैदिक विधिअनुसार विसर्जन गरिएको छ। मन्दिरमा पूजाआजा गरी राखिएको फूलपातीलाई स्थानीय धिरी खोलामा पुरोहितद्वारा वैदिक विधिअनुसार विसर्जन गरिएको स्थानीय समाजसेवी रोमबहादुर खत्रीले जानकारी दिनुभयो।

उहाँका अनुसार सराय नाच भलवाडको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो। हरेक वर्ष दशैँको अवसरमा आयोजना गरिने यस्ता सांस्कृतिक गतिविधिले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउनुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृतिबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।सराय नाच नेपाली समाजको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको लोकनाच हो। विशेषगरी दशैँको समयमा खुडा, तरबार तथा अन्य परम्परागत सामग्रीसहित बाजागाजाको तालमा नाचिने सरायले वीरता, धार्मिक आस्था र सामूहिक एकताको सन्देश दिने विश्वास गरिन्छ।

पछिल्लो समय आधुनिक मनोरञ्जनका विभिन्न माध्यमको प्रभाव बढ्दै गएको अवस्थामा पनि भलवाडमा सराय नाचलाई निरन्तरता दिइनुले स्थानीय बासिन्दामा आफ्नो मौलिक संस्कृति र परम्पराप्रतिको लगाव कायम रहेको देखाएको छ।धार्मिक विधिअनुसार फूलपाती विसर्जन र परम्परागत सराय नाचको आयोजनासँगै भलवाडमा यस वर्षको दशैँको सांस्कृतिक उत्सव उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८३ शनिबार ००:००  ८ : ४४ बजे