१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

को हुन् ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ?



ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आइतवार भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा पुनरागमनसहित जित हासिल गरे।

पहिलो चरणमा अग्रता लिएका लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथोपटक राष्ट्रपतिको कार्यकाल सम्हाल्ने अवसर प्राप्त गरे। सन् १९४५ अक्टोबरमा ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा जन्मिएका लुला गरिब ग्रामीण परिवारका सातौँ सन्तान हुन् ।

सन् १९७० को दशकको सुरूवातदेखि उनी क्रमशः ट्रेड युनियन नेताका रूपमा उदाए। गरिब तथा श्रमिक वर्गको आवाज उठाउने नेताका रूपमा परिचित लुला तत्कालीन सैन्य शासनविरुद्धको आन्दोलनमा पनि अग्रणी भूमिकामा थिए। सन् १९८० मा उहाँले वर्कर्स पार्टी (पीटी) स्थापना गर्न सहसंस्थापकका रूपमा भूमिका निर्वाह गरे।

सन् २००२ को राष्ट्रपतीय निर्वाचनमा भारी मतान्तरसहित विजय हासिल गरेपछि लुला श्रमिक पृष्ठभूमिबाट ब्राजिलको राष्ट्रपति बन्ने पहिलो व्यक्ति बने। सन् २००६ मा उनी पुनः निर्वाचित भए। उनको प्रमुख सामाजिक कार्यक्रम  ‘बोल्सा फामिलिया’ (परिवार भत्ता) अन्तर्गत गरिब परिवारलाई नगद सहायता उपलब्ध गराइन्थ्यो।

उक्त कार्यक्रमले लाखौँ ब्राजिलियन नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सहयोग गरेको थियो। सन् २०१४ मा ब्राजिलका न्यायिक निकायले ‘अपरेसन कार वास’ नामक व्यापक भ्रष्टाचारविरोधी अनुसन्धान सुरू गरेका थिए। त्यसक्रममा लुलामाथि पनि अनुसन्धान भयो, उनलाई दोषी ठहर गर्दै जेल पठाइएको थियो।

तर सन् २०२१ मार्चमा ब्राजिलको सर्वोच्च संघीय अदालतले उनीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा भएका सबै दोषसिद्धि खारेज गरिदियो।  त्यसपछि लुला सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धामा उत्रिए। तत्कालीन राष्ट्रपति जाइर बोल्सोनारोलाई पराजित गर्दै उनी निर्वाचित भए।

यससँगै जनमतबाट तीनपटक राष्ट्रपति निर्वाचित हुने ब्राजिलका पहिलो राष्ट्रपति बने। लुलाले सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने, सामाजिक नीतिहरू सुदृढ गर्ने तथा श्रमिक अधिकारको संरक्षण गर्ने नीतिको वकालत गर्दै आएका छन्। विदेश नीतिमा उनी अन्तर्राष्ट्रिय मामिलामा सक्रिय सहभागिताका पक्षधर हुन्। उनको परिमार्जित विदेश नीति कार्यसूचीमा ब्रिक्स राष्ट्रबीचको सहकार्य तथा विकासशील मुलुकहरूबीचको दक्षिण–दक्षिण सहकार्यलाई प्राथमिकता दिइएको छ। 

लुलाले चीनसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएका छन्। न्यायपूर्ण विश्व र दिगो पृथ्वी निर्माणका लागि चीन र ब्राजिलबीच साझा भविष्यसहितको समुदाय निर्माण गर्ने प्रयासलाई उनले सक्रिय रूपमा अघि बढाएका छन्। लुलाले सन् २०२७ जनवरी ५ देखि ब्राजिलको राष्ट्रपतिका रूपमा चौथो चारवर्षे कार्यकाल सुरू गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८३ बुधबार ००:००  ४ : ४१ बजे