कपिलवस्तु ।
बाणगङ्गा नगरपालिका १ मा अवस्थित श्री दुर्गा भगवती मन्दिर बैरियामा कोजाग्रत पूर्णिमाको अवसरमा आज विशेष सराय नाच प्रदर्शन हुने भएको छ। दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा यस क्षेत्रकै उत्कृस्ट सराय नाचसँगै श्री गार्गी कन्या गुरुकुल, देवघाटधामका कन्याद्वारा स्वस्तिवाचन, मालश्री गायन तथा स्वस्ति शान्ति कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा सहभागी भई देवीको दर्शन, टीका–प्रसाद ग्रहण तथा धार्मिक एवं सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्न दुर्गा मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा सर्वसाधारणलाई निमन्त्रणा गरेको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलक खत्रीले यस वर्षको सराय नाचलाई विगतभन्दा थप व्यवस्थित र परिस्कृत बनाउने गरी तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँका अनुसार परम्परागत बाजागाजा, कन्या बटुकहरूको स्वस्तिवाचन र नमुना हतियारसहितको सराय नाच कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।बाल माबिको प्राङ्गणमा भेला भई पुर्णिमा विशेष सराय नाच, प्रसाद ग्रहणपछी औपचारिक समापन हुनेछ ।
मन्दिर व्यवस्थापन समितिका सचिव महेश पन्थका अनुसार कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्र अर्यालको प्रमुख आतिथ्यता रहनेछ। नगर उपप्रमुख रिता कुमारी चौधरीसहित नगरका ११ वटै वडाका अध्यक्ष तथा अन्य जनप्रतिनिधिलाई समेत सराय तथा फहरी नाचको अवलोकन र टीका–प्रसाद ग्रहणका लागि निमन्त्रणा गरिएको छ।

बडादसैँसँग जोडिएको सराय नाच पश्चिम नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा हो। देवी दुर्गाले महिषासुरलगायत दानवमाथि विजय प्राप्त गरेको खुसीयालीमा प्रदर्शन गरिने यस नाचमा तरबार, खुँडा तथा परम्परागत हतियारसहित पञ्चेबाजाको तालमा नृत्य गरिन्छ। नौमती बाजा, शङ्खघण्टको ध्वनि, मालश्री गायन र देवीको प्रतीकका रूपमा रहेका पञ्चआलमको दर्शनले यस नाचलाई धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोड्दै आएको छ।
बैरिया दुर्गा तथा कालिका मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। मन्दिरमा देवीसँग भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वासका कारण नवरात्रमा विशेष पूजाआजा हुने गरेको छ। विवाह, व्रतबन्ध, चौरासी पूजा तथा रुद्री पूजालगायत धार्मिक अनुष्ठानका लागि पनि भक्तजन यहाँ पुग्ने गरेका छन्। कोजाग्रत पूर्णिमाका दिन सराय नाच प्रदर्शनसँगै फूलपाती विसर्जन गर्ने परम्परा रहिआएको छ।
बैरियामा आयोजना हुने सराय नाचमा कपिलवस्तुसहित रुपन्देही, अर्घाखाँची, दाङ र प्युठानलगायत जिल्लाबाट भक्तजन तथा दर्शक सहभागी हुने गरेका छन्। विशेषगरी बाणगङ्गा क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायको मौलिक सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा लोकसंस्कृति हस्तान्तरण गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
करिब ५३–५४ वर्षअघि स्थापित मन्दिरका पुराना संरचनामध्ये मुख्य दुर्गा भगवती मन्दिर जीर्ण भएपछि यसको ऐतिहासिक तथा धार्मिक महत्त्व संरक्षण गर्ने उद्देश्यले कलात्मक शैलीमा पुनर्निर्माण भइरहेको छ। अन्य संरचनाको मर्मतसम्भार तथा रङरोगनको कामसमेत भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
निर्माणाधीन मन्दिरको काम सम्पन्न गर्न स्थानीय सरकार, दाताहरू तथा शुभेच्छुकबाट सहयोग प्राप्त भइरहेको भए पनि तयार पारिएको नक्साङ्कनअनुसार निर्माण पूरा गर्न प्रदेश तथा सङ्घीय सरकारको थप आर्थिक सहयोग आवश्यक रहेको दुर्गा मन्दिर व्यबस्थापन समितिका निवर्तमान अध्यक्ष चुरामणि अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो आठ–नौ वर्षदेखि बैरियामा सराय नाचलाई थप व्यवस्थित र परिस्कृत गर्दै लगिएको छ। अर्घाखाँचीका अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट र ठाडालगायत स्थानमा परम्परादेखि प्रचलित सराय संस्कृतिलाई कपिलवस्तुमा समेत संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास भइरहेको समाजसेबी राजु पन्थले बताउनु भयो ।
मन्दिर व्यवस्थापन समिति, बैरिया युवा समाज, नेपाली लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कपिलवस्तु तथा परम्परागत लोक संस्कृति प्रतिष्ठान नेपालको आह्वानमा आयोजना हुने कार्यक्रमको मुख्य व्यवस्थापन बैरिया युवा समाजले गर्नेछ।
नेपाली लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बुद्धिसागर बेल्बासेले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ।
धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको बैरिया दुर्गा भगवती मन्दिरको सराय नाचले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई देवीको दर्शन, कन्या बटुकहरूको स्वस्ति शान्ति तथा टीका–प्रसाद ग्रहण गर्न हार्दिक निमन्त्रणा गरेको युवा समाजका निवर्तमान अध्यक्ष विष्णु घिमिरेले जानकारी दिनुभयो ।











प्रतिक्रिया