२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भारतको मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली नेपाल फर्किए



भद्रपुर ।
मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ। तीमध्ये १४७ महिला र ३२ पुरुष छन् ।
माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए। उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो।
मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौँ पठाइएको छ । नेपालको विभिन्न नाकाबाट मणिपुर पु¥याइएका उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए।
उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेकाले उनीहरूलाई काठमाडौँ लगेर पुनःस्थापनागृहमा राखिने भुषालले जानकारी दिए। ‘उहाँहरु असाध्य थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले चार÷पाँच लाख रुपैयाँका दरले पैसासमेत असुलेको रहेछ,’ उपसचिव भुुसालले भने, ‘पुनःस्थापना गृहमा लगेर रेस्ट गराउँछौँ र उहाँहरुलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत अनुसन्धान गर्छौं।’
ती नेपालीलाई इराक र युएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए।रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  १० : ०४ बजे