८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मुआब्जा रकममाथि सेम्रहवा गाउँबासी असन्तृष्टि, गरे लमही–कोइलाबास सडक बन्द



दाङ ।
मुआब्जा रकम थोरै भएको भन्दै दाङको लमही नगरपालिका वडा नम्बर ४ सेम्रहवा गाउँका बासिन्दा आन्दोलित छन् । हुलाकी सडकमा परेका जग्गा धनीलाई वितरण गरिएको जग्गाको मुल्यांकन चलनचल्तीको मूल्य भन्दा निकै थोरै भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
कालोझण्डा र ब्यानर टाँगेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका यहाँका नागरिकले सडक अवरुद्ध पारेर संघर्ष गरेका छन् । बुधबार क्रसर उद्योगमा जाने बाटो अवरुद्ध उनीहरुले बिहीबार लमही–कोइलाबास सडक अवरुद्ध पारेका छन् ।
लमही–कोइलाबास सडक अन्तर्गत सेम्रहवा क्षेत्रमा डेढ किलोमिटरको दूरीमा पर्ने जग्गाको मुल्यांकन तीन थरीको छ । प्रति वर्ग्मिटर २५ सय, १५ सय र ५ सय २५ रुपैयाँ तोकिएको छ । तर, स्थानीयले २५ सय रुपैयाँ प्रति वर्ग्मिटर रुपैयाँ कायम गर्न माग गरेका छन् । उनीहरुको मागमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समर्थन जनाएका छन्।
लमही–कोइलाबास सडक क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न जिल्लामा प्राप्त भएको ३५ करोड बजेट मध्येबाट अहिलेसम्म ३२ करोड ११ लाख ४४ हजार एक सय ७८ रुपैयाँ वितरण भएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत मुआब्जा रकम वितरण भैरहेको हो । अब २ करोड ९७ लाख २९ हजार ४४ रुपैयाँ वितरण गर्न बाँकि रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
अहिले सम्म ३ सय ८७ कित्ताको मुआब्जा वितरण गरिसकिएको छ । ३२ वटा कित्ताका जग्गा धनी मध्ये १० जना सम्पर्कमा आएको र बाँक २२ कित्ताका जग्गाधनी सम्पर्कमा आउन सकेका छैनन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६ बिहिबार ००:००  १० : २९ बजे