८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारतीय महिला क्रिकेटर मिताली राजले गरिन सन्यासको घोषणा



एजेन्सी ।
भारतीय महिला क्रिकेट टिमकी पूर्व कप्तान मिताली राजले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् । मिताली भारतका लागि टी-ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले भारतका लागि ८९ टी-ट्वान्टीमा ३७.५२ को औसतले २ हजार ३ सय ६४ रन बनाएकी छिन् । जसमा उनले १७ अर्धशतक पनि बनाएकी थिइन् । उनले भारतीय टिमबाट २०१२, २०१४ र २०१६ को टी–२० विश्वकपमा कप्तानी गरेकी थिइन् ।

सन्यासबारे मितालीले भनिन्, ‘२००६ मा भारतका लागि डेब्यु गरेपछि आज टी-ट्वान्टीबाट बिदा हुँदैछु । टी-ट्वान्टीबाट सन्यास लिए पनि मेरो ध्यान २०२१ मा हुने एक दिवसीय विश्वकपमा केन्द्रित हुने छ।’ भारतका लागि विश्वकप जित्नु आफ्नो सधैँको सपना रहेको बताउँदै मितालीले २०२१ मा सपनालाई साकार पार्न आफूले शतप्रतिशत योगदान गर्ने पनि बताइन् ।

उनले आसन्न महिला टिमको दक्षिण अफ्रिका भ्रमण सफल रहोस् भन्दै शुभकामना पनि दिइन् । साथै बीसीसीआईले अहिलेसम्म साथ दिएकोमा धन्यवाद समेत दिएकी छिन् ।

मितालीको सन्यासको घोषणापछि भारतीय सञ्चारमाध्यमहरुले भने आश्चर्य व्यक्त गरेका छन् । उनले आफैँ दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि उपलब्ध हुने बताएकाले अहिले नै सन्यास घोषणा गर्लिन् भनेर कसैले कल्पनासम्म गरेका थिएनन् ।

उनको ब्याटिङका विषयमा भारतमा भने आलोचना भइरहकेो थियो । उनी गएको विश्वकपमा विवादमा समेत परेकी थिइन् । उनले आफू फिट हुँदाहुँदै पनि इंग्ल्याण्डविरुद्धको सेमिफाइनलमा नखेलाएको भन्दै प्रशिक्षक रमेश पवारमाथि आरोप लगाएकी थिइन् ।

पवारले मितालीको आरोप निराधार रहेको भन्दै छानबिन गर्न सजिलो बनाउने भन्दै भारतीय महिला टिमको प्रशिक्षकबाट समेत राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०७६ बुधबार ००:००  ६ : १५ बजे