३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

त्रिभुवन विश्वविद्यालयमा नक्कली परीक्षकले लगे २१ लाख



काठमाडौं ।
नक्कली परीक्षकका नाममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २१ लाख १७ हजार भुक्तानी भएको छ । २०७५ असोजअघि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम हिनामिना भएको समाचार नयाँ पत्रिका दैनिकमा छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले डेढ वर्ष अवधिमा नक्कली परीक्षक खडा गरेर २१ लाख १७ हजार हिनामिना भएको बताए। नक्कली कागजात र भौचर बनाएर धेरै व्यक्तिको नाममा रकम लगिएको देखिएको उनले बताए। त्यतिबेला परीक्षण गरेको उत्तरपुस्तिकाको संख्यासहित भौचर ल्याउनेलाई चेकमार्फत भुक्तानी दिने थियो । केवल रसिदको भरमा नगद कारोबार हुँदा हिनामिना भएको त्रिविका पदाधिकारीहरू स्विकार्छन्। त्रिविले रकम हिनामिनाबारे गत ०७५ कात्तिकमै महानगरीय अपराध महाशाखा टेकुमा कागजातसहित उजुरी गरेको थियो । तर, प्रहरीले अहिलेसम्म पनि नक्कली परीक्षक पत्ता लगाउन नसकेको त्रिविका रजिस्ट्रार तथा परीक्षा समितिका अध्यक्ष प्रा। डिल्ली उप्रेतीले बताए । यो घटनाअघि कति रकम हिनामिना भयो भन्ने हिसाब भने पनिकासँग छैन । ‘अहिले कसले भुक्तानी लगेको हो भन्ने पत्ता लाग्यो भने अरू पनि खोजी गर्छौँ । कहिलेदेखि रहेछ भन्ने आशंका मेटाउन पनि थप छानबिन गर्छौँ,’ परीक्षा नियन्त्रक जोशीले भने । नक्कली परीक्षक खडा गरेर रकम हिनामिना भएपछि पनिकाले अहिले भने बैंक खातामार्फत कारोबार गर्न थालेको छ । उत्तरपुस्तिकाको भौचर विभिन्न संकाय र तहको गोप्य शाखामा संकलन गरेपछि लेखाले सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गरिदिन थालेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ६ : ५३ बजे