८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

युक्रेनी यात्रुवाहक विमान इरानले नै खसाएको पुष्टि



एजेन्सी ।
यात्रुको ज्यान जानेगरि इरानले नै युक्रेनी जहाज खसालेको पुष्टि भएको छ। इरानी सेनाले गल्तीवस विमानमा क्षेप्यास्त्र आक्रमण गरिएका कारण विमान खसेको भन्दै माफी मागेको छ। राष्ट्रपति हसन रुहानीले पनि एक ट्वीट गर्दै सेनाको आन्तरिक छानबीनबाट पनि मानवीय त्रुटीका कारण गल्तीवश विमानमा मिसाइल प्रहार भएको र भयावह दुर्घटना भएको स्वीकारेका छन्। यो दूर्घटना माफीयोग्य नभएको भन्दै उनले निकै ठूलो वियोगको रुपमा अर्थ्याएका छन्। मिसाइल हानेर खसालिएको विमान अमेरिकी कम्पनी बोइङले बनाएको ७३७ सिरिजको थियो। युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको यो विमानले उडान भर्नासाथ बुधबार बिहान इरानको राजधानी तेहरानको बाहिरी भागमा मिसाइल लागेर खसेको थियो। युरोपेली र अमेरिकी मुलुकको खुफिया एजेन्सीले मिसाइल हानेर विमान खसालेको भनेपनि इरानले यसलाई स्वीकारेको थिएन। सोही बिहान इरानले आफ्ना सैन्य जनरल कासिम सुलेमानीको हत्या बदलामा इराकस्थित अमेरिकी सेनाका क्याम्पहरुमा मिसाइल हानेको थियो। निकै तनावपूर्ण स्थितिका बीच युक्रेनी जहाज अस्त्रयुद्धको शिकार भएको बताइएको छ। युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको यो जहाजमा उडान दलका नौ सदस्य र १६७ यात्री सवार थिए। इरानका ८२, क्यानडाका १२ र युक्रेनका ११ नागरिक पनि विमानमा भएको मिसाइल आक्रमणको शिकार भएका छन्। आकाशमा उडिरहेको विमानले संवेदनशील सैन्य क्षेत्रतर्फ अप्रत्याशित रुपमा उडान मोडेको इरानी सेनाले दाबी गरेको छ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  १ : ३८ बजे