२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

आइसोलेसनमा मृत्यु भएका गुल्मीका पुरूषमा कोरोना देखिएन



बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा आइतबार मृत्यु भएका पुरूषको स्वाब परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

क्वारेन्टिनमा रहँदा बिरामी भएका गुल्मीको धुर्कोट गाउँपालिकाका ४२ वर्षीय पुरूषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टिनमा बसेका उनलाई तीन दिनदेखि ज्वरो, रूघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि तम्घास हुँदै शनिबार बुटवल ल्याइएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतकको आरडिटी पोजेटिभ आएको भए पनि पिसिआर परीक्षणमा कोरोना नेगेटिभ आएको जानकारी दिए ।

उनलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखी उपचार भइरहँदा मृत्यु भएको जानकारी दिए ।

मृतकको स्वाब रिपोर्ट कोरोना नेगेटिभ आएकोले शवलाई परिवारको जिम्मा लगाइने भएको छ ।

रिपोर्ट नआउँदासम्म उनको शवलाई अस्पतालमा राखिएको थियो ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  २ : २० बजे