९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

अहिलेको सबै वितण्डाको जिम्मेवार केपी ओली हुन्ः माधव नेपाल



काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको वितण्डाको जिम्मेवार केपी शर्मा ओली भएको बताएका छन्।
नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुर सानेपाको हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
उनले भने, ‘यो स्थिति आज किन उत्पन्न भएको छ ? यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामको निम्ति, सबै वितण्डाको निम्ति, यो सबै अवस्थाको निम्ति, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ।’

केपी ओली पार्टी अध्यक्ष भएपछि आफूहरु पीडित भएको नेता नेपालले गुनासो गरे। विगतमा पनि पार्टीको बैठक बोलाइदिनु पर्‍यो भनेर ओलीलाई अनुनय विनय गर्दा पनि त्यसको सुनुवाई नभएको उनले बताए। मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टीभित्र गुटबन्दीको सुरुवात गरेको नेता नेपालको आरोप छ। पार्टीमा टिकट वितरण, नियुक्ति तथा कार्यविभाजन लगायतका काममा ओलीले विभेद गरेको उनको भनाइ छ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईको नक्कली हस्ताक्षर गरेर राष्ट्रिय भेला स्थगित भएको गलत सूचना फैलाएको नेपालले बताए। उनले भने, ‘भेला स्थगित गरिएको छ भनेर योगेश भट्टराईको फेक हस्ताक्षर गरियो। साइबर स्यालहरु अहिले पनि जिउँदै रहेछन्। हिजो नेकपा हुँदा मात्र होला भनेको त होइन रहेछ। साइबर स्यालदेखि सावधान।’

प्रकाशित मिति : ४ चैत्र २०७७ बुधबार ००:००  २ : ५९ बजे