२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एमालेमा रहन नदिन अनेक दाउपेच भइरह्‍योः माधव समूह



काठमाडौं ।
नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरूलाई एमालेमा रहन नदिनको लागि अनेक दाउपेच भइरहेको आरोप लगाएका छन्। ७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण पार्टी पंक्तिमा जारी गरिएको अपिल गर्दै पार्टी एकता जोगाउन चाहेको बताएका हुन्।

नेपाल समूहको १५ नेताले जारी गरिएको अपीलमा भनिएको छ, ‘हामीलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन्। २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ। तर, हामी पार्टी एकता जोगाउन चाहन्छौं। त्यसैले हामीले ‘नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौं।’

उनीहरूले फागुन २८ र तत्पश्चात् भएका कथित् बैठक र तिनका अवैध निर्णय सबै रद्ध गरिनुपर्ने माग गरेका छन्। पार्टीको एकता भंग भएपछि २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसकै पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने माग गरेका छन्। पार्टी एकतालाई जोगाउन ०७५ जेठ २ को निर्णयमा फर्किनुपर्ने बताएका छन्।

अपिलमा भनिएको छ, ‘एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ। यही अठोटका साथ ७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सवैले आ आफ्नो ठाउँबाट प्रयास गरौं। पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तक सवैमा हामी यही हार्दिक अपिल गर्दछौं।’

प्रकाशित मिति : ९ बैशाख २०७८ बिहिबार ००:००  ३ : ३१ बजे