८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि



काठमाडौं :

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको टिप्पणी गरेका छन्। शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीको दम्भको कुनै अर्थ नरहेको स्पष्ट पारे।

नेता नेपालले केपी ओलीले हिजो (बिहीबार) आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको पनि बताए। ‘उहाँले धरहरा भन्दै मलाई आफ्नो दम्भ देखाउनुभयो’, बिहीबार प्रधानमन्त्रीसँग भएको भेटबारे उनले भने।

बालुवा पेलेर तेल निस्किँदैन। केपी ओली सुध्रिनेवाला नभएको कुरा जान्दाजान्दै पनि आफूले कोसिस गर्न प्रधामन्त्रीलाई भेट्न गएको नेता नेपालले स्वीकारेका छन्।

‘बुधबार भेटका क्रममा मैले ओलीको प्रधानमन्त्री पदलाई र अध्यक्ष पदलाई पनि हटाउन खोजेको होइन। पार्टीलाई नियमसंगत चलाउनुस् भनेको हुँ। माधव नेपाललाई कुनै पद चाहिएको छैन। तर्सिरहनु पर्दैन भनेको थिएँ’, नेता नेपालले भने, ‘प्रधानमन्त्रीले उपाय निकाल्नुस् भन्नुभएको थियो। पहिलो भेटमा केहिी आशा जागेको थियो।’ बुधबारको भेटमा आफूलाई केही आशा जागेको भए पनि बिहीबारको भेटले त्यो आशा हटेको उनले उल्लेख गरे।

नेता नेपालले शुक्रबार भेट हुनुभन्दा पहिले बिहान ओलीको प्रवचन सुनेको र बिहानको भाषण नै माधव नेपालको हुर्मत लिने खालको रहेको बताए। माधव नेपालको हुर्मत लिन उहाँले सक्नुहुन्छ? भन्दै प्रतिप्रश्न गरेका छन्।

शुक्रबारको आफूले जेठ २ गते फर्कौं भनेर भनेको उनले बताए। ‘पार्टीलाई एकताबद्ध बनाऊँ। मिलेर जाऊँ। कोकोलाइ थप्नुपर्छ छलफल गरौं भनेको हुँ’, उनले भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षका हुनुहुन्न। उहाँको अंहकार, दम्भ देखाइरहनुभएको छ। हामीले कुनै पनि हालतमा आन्दोलन छोड्दैनौं। पार्टी छोड्दैनौँ। लोकतन्त्र छोड्दैनौं। संघीयता त्याग्दैनौं।’

प्रकाशित मिति : १० बैशाख २०७८ शुक्रबार ००:००  १२ : ५८ बजे