१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अनौठो खबरः २५ वर्षीया महिलाले एकैपटकमा ९ बच्चालाई जन्म दिइन्



एजेन्सी ।
अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको मंगलबार अप्रेशन गरिएको थियो।यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो। डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।

प्रकाशित मिति : २२ बैशाख २०७८ बुधबार ००:००  ७ : ५९ बजे