२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

हरायो मानवीयताः कोरोना संक्रमितलाई चाहिने २४ हजार पर्ने औषधीलाई १ लाख २० हजारमा बिक्री



काठमाण्डौँ ।
कोरोनाभाइरस संक्रमितलाई दिइने औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धराबाट एक जनालाई पक्राउ गरेको छ।२४ हजार रुपैयाँ पर्ने रेम्डेसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए।उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ।


महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सेवक फर्माका सञ्चालक दीपक ढकाल फरार छन्।

रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ।उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको पंगेनीले बताए।

‘एउटा प्याकेटमा ६ वटा सेट हुन्छ, त्यसको मूल्य २४ हजार हो,’ पंगेनीले भने, ‘त्यो औषधीलाई १ लाख २० हजार रुपैयाँ लिएर बेचिरहेको पाइयो।’

फरार ढकालको खोजी भइरहेको उनले बताए।पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ। यो कालोबजारीको घटनाले मेडिकल माफियाहरुले मानवीयता भुलेर कर्तुत गरेको जानकार बताउँछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  २ : ३४ बजे