काठमाडौं ।
नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन्। सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताएका हुन्।
विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाइ छ। पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उनले बताए।
कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ। उनले भने, ‘एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, विभाजनमा पुर्यायो, अब हामीले फेरि वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ।’
नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याए। विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभए पनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाइ छ।
यद्यपि, कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने उनले बताए। उनले भने, ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ। तर, हामी हिम्मत हार्दैनौँ। कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन। हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्नु जरुरी छ।’
नेकपा माओवादी केन्द्र ले आफुलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए।













प्रतिक्रिया