८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आर्थिक अभावले उपचारबाट वञ्चित भइन् किशोरी



चन्द्रकान्त खनाल, रुपन्देही, साउन ११ ।
खाना पकाउने ग्यास लिक भएर घाइते भएकी अर्घाखाँची जुरलनेताकी १६ वर्षीय सावित्रा परियार आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएकी छिन् ।
जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल र बुटवलबाट पनि उपचार सम्भव नभएपछि भैरहवा मेडिकल कलेज, अस्पतालमा उपचार गराउन पुगेकी थिइन् । थप उपचारका लागि पैसा अपुग भएपछि मेडिकल कलेजको अस्पतालले फिर्ता पठाएको दुखेसो उनका आफन्तले गरेका छन् ।
सावित्राका आमाबुबा कपाड सिलाएर जीवीकोपार्जन गर्छन् । इष्टमित्रसँग सापटी लिएको रकम उपचार गराउँदा गराउँदै सकिएपछि त्यहाँ थप उपचार गराउन नसकिएको सावित्राकी आमाले बताइन् । उनले भनिन्, ‘ऋण गरेर जम्मा गरेको ८० हजार सकियो । अब कुनै उपचाय छैन ।’
सावित्रा पुनः अर्घाखाँची जिल्ला अस्पताल नै आइपुगेकी छिन् । उनको जीवन रक्षाका लागि अर्घाखाँचीका केही युवाले फेसबुक मार्फत सहयोग आह्वान गरिरहेका छन् । कक्षा ९ मा अध्ययनरत सावित्राको उपचारमा सहयोग गर्न अस्पताल र उपचारमा संलग्न चिकित्सकले पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  २ : ०१ बजे