२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

प्युठानमा बेमौसमी मकैबाट मनग्गे आम्दानी



केशर रोका, प्युठान १४ कात्तिक ।
मौसम अनुसार हिजोआज बारीमा तोरी, कोदो फल्ने सिजन हो । अधिकांश गाउँका किसानले बारीमा तोरी, कोदो, फापर रोपेका छन् । तर प्युठान नगरपालिका–६ माझकोट खलीगाउँकी तनी घर्तिमगरले मकै फलाएर राम्रो आम्दानी गर्दै आएकी छन्।
बेमौसमी मकै उत्पादन गरेर उनले मनग्गे आम्दानी गरेकी हुन् । गाउँमा पुग्ने जोकसैले उनको मेहनतलाई प्रशंसा गर्दै मकै किन्ने गरेका छन् । प्रतिघोगा मकै १० देखि २० रुपैयाँसम्म बेच्ने गरेको उनले बताइन् । ‘बर्र्खे मकै भित्र्याएपछि फेरि रोपेकी हुँ’, ५६ वर्षीय घर्तिमगरले भनिन्, ‘बारीमै खोसाखोस हुन्छ। गाउँमा कसैले रोपेका छैनन्।’
गाउँमा नमुना किसानका रूपमा उनले परिचय बनाइसकेकी छन् । मकैसँगै बारीभरि तरकारीखेती गरेको उनले बताइन् । सिमी, बोडी, टमाटर र साग लगाएको उनले जानकारी दिइन्। ‘तरकारी र मकै बेचेर एक सिजनमा डेढलाख जति कमाएँ’, उनले भनिन्, ‘खेती किसानी गरेर आएको आम्दानीले छोरीछोरी पढाएकी छु।’
उनका ६ छोरी र दुई छोरा छन्। जेठो छोरा नारायणलाई काठमाडौं र कान्छो आदित्यलाई पोखरा पढाइरहेको उनले जानकारी गराइन्। आफ्नो काममा श्रीमान् चन्द्रबहादुर घर्ती मगरले पनि सघाउने गरेको उनले सुनाइन्। ‘गाउँमा गठित कृषि समूहमा लागेपछि खेतीपाती गर्न सजिलो भएको हो’, उनी भन्छिन्, ‘समूहले तरकारी खेती गर्न सिकायो। मकै लगाउन आफैं सिके’ स्थानीय महिला÷पुरुष मिलेर गाउँमा लालुपाते ताजा तरकारी उत्पादक कृषि समूह गठन गरेका छन्। करिब एक सयभन्दा बढी घरधुरी रहेको उक्त गाउँमा जनजातिको बाहुल्य छ।
गाउँका अधिकांश महिलाले पुख्र्यौली खेती किसानी गरेर जीविका चलाइरहेका थिए। समूहमा आबद्ध भएपछि महिलाले हिजोआज आयआर्जनसमेत गर्न थालेका छन्। समूहमा आबद्ध सबै सदस्यले व्यावसायिक रूपमा टमाटर, काउली, बन्दा, काँक्रो लगाएका छन्। गाउँमै मोटरबाटो पुगेकाले बजारको समस्या नभएको समूहका सचिव थमनसिंह घर्ती मगरले जानकारी दिए। ‘बर्खे सिजनमा तरकारी बेचेर गाउँमा १८ लाखजति भित्रियो’, उनले भने, ‘बाग्दुलामा टमाटर बेच्न लैजान्छौं।’
कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्डे«नको सहयोगमा गाउँमा कृषि समूह गठन गरी किसानलाई आबद्ध गराएको उनले बताए। ‘धेरै महिलाले घरमा प्रयोग गर्नेसम्म पनि तरकारी उब्जनी गर्दैनथे’, उनले भने, ‘समूहमा आबद्ध भएपछि सबैले सीप सिके। अहिले बजारमा बेच्न सक्ने भएका छन्।’ महिलाले आयआर्जन गर्न थालेपछि जीवनशैलीमा समेत परिवर्तन हुन थालेको उनले अनुभव बताए।
‘छोराछोरीलाई कापीकिताब किन्न कसैसँग पैसा माग्नुपर्ने अवस्था छैन’, उनले भने, ‘आफ्नै बारीमा उब्जाएको ताजा तरकारी खान्छौं। छोराछोरी पढाउन सजिलो भएको छ।’ साउन र भदौमा गाउँमा उब्जनी भएको तरकारी बाग्दुला बजारमा लैजान भ्याइनभ्याइ हुने गरेको उनले जानकारी दिए।
बालबालिकाको गुणस्तरीय शिक्षा र जीविकोपार्जनका लागि गाउँमा कार्यक्रम सञ्चालन गरिएको कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक सरोज श्रेष्ठले जानकारी गराए। ‘किसानलाई समूहमा आबद्ध गराई सीप सिकाएर आयआर्जनमा लाग्न हौसला दिन्छौं’, उनले भने, ‘अभिभावकले आम्दानी गरेपछि छोराछोरीको पढाइलेखाइमा पनि सजिलो भएको छ।’ गुणस्तरीय शिक्षाका लागि जीविकोपार्जन कार्यक्रमले मद्दत र्पुयाएको उनले दाबी गरे।
‘अति गरिब र विद्यालयबाहिर भएका बालबालिकालाई लक्ष्य गरी कार्यक्रम चलाएका छौं’,श्रेष्ठले भने, ‘घरखर्च धान्न नसक्ने महिलाले आम्दानी गरेर जीवन बदलेका छन्।’
आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ३ : ४३ बजे