१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

साउन सकिनै लाग्दा देशभर ९१ प्रतिशत रोपाइँ



काठमाडौँ ।
साउनको अन्त्यतिर आइपुग्दा देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष यो अवधिमा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो। मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव सात, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। उनका अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।

मधेश प्रदेशमा सबैभन्दा कम ७६ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष मधेशमा अहिलेसम्म ९७ प्रतिशत रोपाइँ भएको थियो। यहाँ मनसुन अलि ढिला सक्रिय भएकाले प्रतिशतका हिसाबले सबैभन्दा कम रोपाइँ भएको जोशीले बताए।

मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। यहाँबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान छ। पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ।

आर्थिक वर्ष २०८०र८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। यो वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने जोशीले बताए।

मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टिले नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको जोशीले बताए। पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२ मंगलबार ००:००  ८ : २० बजे