४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पशुपालनबाट मासिक एक लाख बढी आम्दानी



मायादेवी अनलाइन, कपिलवस्तु, ११ माघ ।
कपिलवस्तु वाणगंगा नगरपालिका ७ मोतीपुरका एक युवाले पशुपालन मार्फत मासिक एक लाख बढी आम्दानी गर्दै आएका छन । स्थानीय जयलाल गिरीले व्यवसायिक बाख्रा, भैसी र गाईपालन मार्फत मासिक एक लाख आम्दानी गर्दै आएका हुन । कपिलवस्तु बाख्रापालन तथा कृषि फर्म दर्ता गरि गिरीले २०७० साल देखि कृषि व्यवसाय अंगालेका हुन ।
सुरुवाती चरणमा डेढ सय बाख्रा पालन व्यवसाय शुरु गरेका गिरीले अहिले व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन । हाल उनले बाख्रा संगै साना ठुला गरि २२ वटा भैसी र गाई पालेका छन । बाख्राबाट बार्षिक तीन देखि चार लाख आम्दानी गर्दै आएका गिरीले गाईभैसीको दुध बेचेर मासिक ७० देखि ८० हजार आम्दानी गर्दै आएको उनले बताए । ‘साना ठुला गरी २२ वटा भैसी र गाई छन, ति मध्ये सात भैसी र तीन गाईले दुध दिन्छन उनले भने, “मासिक रुपमा खसी, बोका पनि बेच्दै आएको छु सबै गरि मासिक एक लाख बढी कमाई गर्छु” ।
रोजगारीको शिलशिलामा १२ बर्ष अरबको खाडीमा बसी परिश्रम गरेको अनुभव उनी सामु छ । ‘बाह्र बर्ष आधा दर्जन खाडी मुलुकमा श्रम गरे उनले भने, “विदेशमा श्रम गरेर केही नहुने देखे पछि स्वदेश आएर कृषिमा हात हालेको हुँ ।” स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर उनले व्यवसाय सञ्चालन गरेका हुन । तीन विगाह ५ कठ्ठा जग्गामा उनले बाख्रा, भैसी र गाई पालन गरेका छन । अझै १० ओटा उन्नत जातका गाई थप्ने योजना उनले बनाएका छन । अबको केहि हप्तामा उन्नत जातका बाख्रा पनि विदेशबाट ल्याउने तयारीमा छन उनी ।
व्यवसायमा अहिले सम्म ५५ लाख लगानी लगाएको उनले बताए । कृषि मै केही गर्छु भन्ने उद्देश्यले व्यवसाय सञ्चालन गरेपनि सरकारी तवरबाट कुनै सहयोग नमिलेको उनले गुनासो गरे । राज्यले केही नगरे पनि ऋणमा सहुलियत दिए पनि राम्रो हुने उनको अपेक्षा छ ।
व्यवसायिक पशुपालन संगै उनले एउटा पोखरीमा माछा पनि पालेका छन । उनी संगै श्रीमती र छोरा पनि काममा खटिदै आएका छन । साथमा तीन जना कामदार पनि उनले रोखका छन । कामदारलाई मासिक ८ हजार देखि बढी तलब दिदै आएको उनले बताए । उत्पादित दुध र मासु बेच्न कुनै समस्या नरहेको उनले बताए । ‘दुध लिन विहानै गाडी फर्म मै आउँछ, खसी, बोका किन्न पनि व्यापारी यहि आउँछन उनले भने, “विक्री हुन्न कि भन्ने कुनै डर छैन ।”
बाख्रामा उनले खरी, जमुनापारी, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पालेका छन । नजिकै रहेको जंगलमा दुई घण्टा बाख्रा चराएर अघिपछि घरायसी घाँस र दाना खुवाउने गरेको उनी बताउँछन । व्यवसायिक रुपमा बाख्रापालन गर्न सके मासिक हजारौँ रुपैया कमाउन गर्न सकिने उनको भनाई छ । भैसी स्थानीय जातका जातका छन । दुध दिन छाडेपछि भैसी बेच्न समस्या नहुने देखेर व्यवसायिक भैसीपालन गरेको उनले बताए ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ५८ बजे