६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन



नवलपरासी ।
यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा वृद्धि भएको उनको भनाइ छ ।

गत वर्ष कूल दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक सय ४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन थालिएको थियो । “अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ”, सूचना अधिकारी काफ्लेले भने, “यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकामा एक सय ६१ हेक्टरमा सुन्तला उत्पादन हुन थालेको छ ।” जिल्लामा बर्सेनि सुन्तला उत्पादन हुने क्षेत्रफल वृद्धि हुँदै गइरहेको छ ।

“जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पाउने गरेका छन्”, उनले भने, “यसै कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै उत्पादन नहुने भएकाले किसानहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।” जिल्लाको बौदिकाली र बुलिङटार गाउँपापलिका तथा गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लामा तीन हजार दुई सय किसानले सुन्तला खेती गर्दै आएका सूचना अधिकारी काफ्लेले बताए ।

प्रकाशित मिति : २३ माघ २०८१ बुधबार ००:००  १० : २५ बजे