२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

केन्द्रीय बजेटमा तिलौराकोट उपेक्षित



दिपक अनुरागी, कपिलवस्तु ।
गौतमबुद्धले आफ्नो २९ बर्ष युवा अवस्था विताएको ठाउँ कपिलवस्तुको तिलौराकोट हो । तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजदरबार पनि हो । यस पवित्रभूमिको विकासका लागि राज्यले चासो भने दिएको छैन । केन्द्रीय सरकारले जेठ १५ गते बजेट ल्याएको छ । बजेटले पर्यटन प्रवर्धनका लागि निकै आकर्षण कार्यक्रम ल्याए पनि बुद्धको भूमि तिलौराकोटलाई उपेक्षित गरेको छ ।

गत दुई बर्षसम्म तिलौराकोट विकासको लागि केन्द्र सरकारले केही भएपनि बजेटमा सम्बोधन गरेपनि अहिलेको सरकारले सम्बोधन गर्न सकेको छैन । विष्णु पौडेल अर्थमन्त्री भएको बेला तिलौराकोटको विकासको लागि रु. २० करोड बजेट छुट्याइएको थियो । पछि कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा पनि पौडेलका समयमा आएको बजेटलाई निरन्तरता दिदै २५ करोड बजेट छुट्याइएको थियो । तर, अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा तिलौराकोटको विकासलाई सम्बोधन गरिएको छैन ।

पूर्व अर्थमन्त्रीहरु पौडेल र महराले तिलौराकोट विकासको लागि जग्गा अधिग्रहण गर्ने प्रक्रियाका लागि बजेट छुट्याउनुभएको हो । जग्गा अधिग्रहणका लागि प्रयाप्त बजेट नछुट्याए पनि तिलौराकोटलाई केही भएपनि सम्बोधन भएकोमा कपिलवस्तुबासी खुसी थिए । तर, अहिलेको सरकारले तिलौराकोट लगायतका बुद्धस्थलका लागि भनेर बजेट नछुट्याउँदा कपिलवस्तुबासी निरास बनेका छन ।

लुम्बिनी पर्यटन प्रवर्धन समितिका सदस्य तथा बुद्धस्थलका जानकार पोमनारायण पौडेलले कपिलवस्तुको गम्भिर्यता प्रति राज्य बेखबर हुँदा सधै उपेक्षित हुने गरेको बताउँनुहुन्छ । बुद्धस्थलमा संसारकै धनि जिल्ला कपिलवस्तुलाई राज्यले बुझ्न नसक्दा ओझेलमा परेको पौडेलले बताउनुभयो । ‘राज्यले कपिलवस्तुको बारेमा बुझ्न सकेन त्यसेले गर्दा सधै उपेक्षित हुँदै आएको छ उहाँ भन्नुहुन्छ, ‘कपिलवस्तु कुन ठाउँमा छ ? कहाँ छ ? भन्ने सम्मको जानकारी पनि राज्यसंग छैन ।’ कपिलवस्तुलाई लुम्बिनीसंग हेर्ने प्रथाले पनि यहाँको विकास नभएको उहाँको तर्क छ । साथै कपिलवस्तुको विकासमा अन्तर्राष्ट्रिय देशहरुले पनि बाधा पु¥याएको उहाँको भनाई छ ।

‘भारतले नक्कली कपिलवस्तु बनाएर विश्वभर भ्रम छर्ने कोशिस गरेको छ, त्यो भ्रमलाई चिर्न सरकार उदासिन छ उहाँले शंका व्यक्त गर्दै भन्नुभयो, ‘कपिलवस्तुमा विकास हुन नसक्नु भारतको पनि हात छ जस्तो लाग्छ ।’ कपिलवस्तुको विकासमा योजनाबद्ध ढंगले प्रहार भएको उहाँको बुझाई छ । कपिलवस्तुलाई बुझ्ने, अध्ययन गर्ने र योजना बनाउने राजनीतिक नेताहरुमा कमी छ पौडेलले भन्नुभयो, ‘लुम्बिनी भनेर सबै हो भन्ने राज्यले बुझेको छ, हाम्रो जिल्लाका नेताहरुले पनि त्यसलाई प्रष्टाउन सकेका छैनन ।’ आजसम्म कपिलवस्तु पछाडि पर्दै आएपनि प्रदेश सरकारबाट केही आशा गर्ने ठाउँ भेटिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कपिलवस्तु विकास आयोजना स्थापना गर्ने भनको छ, त्यसबाट केही आशा गर्न सकिन्छ उहाँले भन्नुभयो ।

राज्यले कपिलवस्तुको विकासमा चासो नदेखाउनु दुखत कुरा भएको सिद्धार्थ क्याम्पसका उपप्रध्यापक गोविन्द्र खनाल बताउँनुहुन्छ । उप-प्रध्यापक खनाल भन्नुहुन्छ, “गौतमबुद्ध हुर्केको, ज्ञान प्राप्त गरेको, बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण ठाउँ कपिलवस्तुलाई बिर्सेर बुद्ध जन्मिएको ठाउँलाई मात्र बढी जोड दिनु राम्रो होइन ।” लुम्बिनीको मात्र विकास गरेर बुद्धको प्रचार प्रसार नहुने भन्दै लुम्बिनीसंगै कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको पनि प्रचार-प्रसार गर्नुपर्नेमा उहाँको जोड छ । यहाँ प्राचीन तिलौराकोट दरवार क्षेत्र, कुदान, निग्लिहवा, गोटिहवा, अरौराकोट, सिसहनिया जस्ता एक सय भन्दा धेरै बुद्धकालीन अति महत्वपूर्ण स्थलहरु रहेपनि पूर्वाधार विकास हुनु सकेको छैन । राज्यले यस विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुहुन्छ ।

अर्को उपप्रध्यापक सुन्दर पाण्डे पनि गौतम बुद्ध लुम्बिनीमा जन्मिनु संयोग मात्र भएको ठान्नुहुन्छ । गौतमबुद्धले २९ बर्षिय बाल्य र युवाकाल विताएको तिलोराकोट लुम्बिनी भन्दा धेरै अग्रगतिमा विकास हुनुपर्ने भएपनि केही नहुनु समग्र कपिलवस्तुको भन्दा पनि देशकै दुभाग्यको विषय भएको उहाँ ठान्नुहुन्छ । बुद्धका महत्वपूर्ण स्थल कपिलवस्तुमा भए पनि सम्बन्धित पक्षले प्रचार प्रसार गर्न नसक्दा पछाडि पर्न गएको उहाँले बताउनुभयो । रुपन्देहीमा लुम्बिनी हुनुले पनि विकासले तीव्रता पाएको उहाको धारणा छ । “रुपन्देही राजनीतिक पहुँचमा धेरै अगाडि छ उहाले भन्नुभयो, त्यसले गर्दा पनि कपिलवस्तु पछाडि परेको हो, अबको प्रदेश सरकारले कपिलवस्तुको ध्यान दिनेछ भन्ने आशामा छौ ।”

लगातार दुई बर्ष तिलौराकोटका लागि भनेर आएको बजेटले जग्गाअधिग्रहणको पक्रिया अगाडि बढाएको छ । लगातार दुई बर्षमा २० विगाह जग्गा अधिग्रहण गरिएको लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताउनुभयो । जग्गा अधिग्रहणको कार्यक्रम अगाडि बढेपछि केही हुन्छ भन्ने आशा पलाए पनि अहिलेको बजेटमा केही समावेश नहुँदा विकासको काम ओझेलमा पर्ने चिन्ता बढेको छ । कोषका सम्पर्क कार्यालय प्रमुख आचार्यले गत बर्ष जग्गा अधिग्रहण गरिएको भएपनि यसपालिको बजेटले सम्बोधन नगरेको बताउँहुन्छ । तिलौराकोटमा ३ सय ४५ विगाह जग्गा अधिग्रहण गनुपर्ने देखिएको छ तर बजेट अभाव हुदै आएकोछ । अधिग्रहणको पक्रियालाई निरन्तरता दिएर तिलौराकोटको विकासमा ढिलाई गर्न नहुँनेमा यहाँका नागरिकको मत छ ।

बुद्धको क्रिडास्थल तिलौराकोटमा २०१४ देखि लगातार उत्खनन तथा अन्वेषश हुदै आएको छ । लगातार पाँच बर्ष सम्म भएको उत्खनन तथा अन्वेषणले बुद्धकालिन समयमा पुरातात्विकबस्तुहरु फेला परेका छन । त्यसले पनि आगामी दिनमा कपिलवस्तुको विकास हुनेमा यहाँका नागरिक ढुक्क छन । तिलौराकोटको अध्ययन, अनुसन्धान र अन्वेषण पछि प्राचिन तिलौराकोट नै बुद्धका पिता राजा शुद्धोदनको राज प्रसाद प्रमाणित भएको छ । सन् १८९९ मा भारतीय पुरातत्व बिद पिसी मुर्खजीले उत्खननका क्रममा पनि थप प्रमाणहरु फेला पारेका थिए । नेपाल सरकार पुरातत्व विभाग र लुम्बिनी विकास कोषले कपिलवस्तुमा १ सय ४ पुरातात्विक स्थलहरु रहेको प्रमाणित गरिसकेको छ ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  ३ : ०९ बजे