३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024

कपिलवस्तुका बुद्धस्थलहरु अतिक्रमणको चपेटामा



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धस्थलको रुपमा परिचित प्राचिन कपिलवस्तुमा रहेका दुर्ई दर्जन बढी बुद्धकालिन स्थलहरु अतिक्रमणको चपेटामा परेका छन् । अतिक्रमणले गर्दा बुद्धस्थलहरुको अस्तित्व समेत संकटमा परेको छ । लुम्बिनी बिकास कोष, कपिलवस्तु संग्राहलय, स्थानीय तह तथा सरोकारवालाले चासो नदेखाउँदा समस्या झन बढ्दै गएको स्थानीय बताउँछन । अतिक्रमणका कारण कतिपय पुरातात्विक स्थलहरुको अस्तित्व समेत लोप हुने संघारमा छ । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले प्रमाणित गरेको कपिलवस्तुका १ सय ४ पुरातात्विक स्थल मध्ये ६८ वटा स्थान व्यक्तिको निजी जग्गामा फेला परेका छन् । निजी जग्गामा भएका पुरातात्विक संरचनाको महत्व जग्गाधनीहरुले नबुझ्दा उक्त स्थल नष्ट गर्ने र भत्काउने गरेका छन् ।

पुरातत्व विभागले तिलौराकोट दरबार क्षेत्र, गोटिहवा लगायत क्षेत्रका जग्गा अधिग्रहण प्रक्रिया अघि बढाए पनि साना पुरातात्विक स्थलको बारेमा भने खासै चासो नदिएको लुम्बिनी विकास कोषका सदस्य पोमनारायण पौडेल बताउँछन । शाक्यमुनी बुद्धको राजधानी मात्र नभई कनकमुनी र क्रकुच्छन्द बुद्धको समेत जन्मस्थल र दरबार क्षेत्र रहेको यहाँका हरेक साना पुरातात्विक स्थल अति महत्वपूर्ण भएको इतिहासकारहरु बताउँछन् ।

प्राचिन शासक विस्द्धकले ७७ हजार शाक्यलाई एकै साथ बध गरेको निग्लिहवा स्थित पुरातात्विक महत्वको सगरहवा, दोहनीकोट, धनकौली स्तुप, गोटीहवाको अशोक स्तम्भ स्थल, डेरवा, सिसहनीयाकोट, चेत्रादेई पिपरी कोट, कुदान लगायतका स्थलहरु अतिक्रमणमा परेका हुन् । यसै गरि जहदी क्षेत्रका विकुलीकोट, बरइपुर औरहवा स्तूपा, पत्थरदेहिया मिझौनिया, सिंहोखोर स्तूपा, तिलौराकोट सिद्धिपुर डाँडा लगायतका ऐतिहासिक स्थलहरु समेत अतिक्रमणमा परेका छन् । प्राय व्यक्तिगत तथा ऐलानी जग्गा रहेकोले यी जग्गाहरुमा जबरजस्ती घर निमार्ण गरिएको छ भने कतिपय स्थानमा ब्यक्तिले जग्गा कब्जा गरी खेती समेत थालेका छन् ।

बौद्ध दर्शन सम्बन्धि ज्ञाता तेजकुमार बौद्धाचार्यका अनुसार निजी जग्गामा भेटिएका पुरातात्विक स्थलको तत्काल संरक्षण र ति जग्गाहरुलाई अधिग्रहण गरि सरकारले आफ्नो नबनाए एक दशक भित्रै सबै हराएर जाने बताउँछन । ‘यी सबै हाम्रा अनमोल धरोहर हुन यसको संरक्षण गर्न अधिग्रहण प्रक्रिया तत्काल अघि बढाउनुपर्छ’ उनले भने ।

सगरहवा ताल क्षेत्रको जग्गामा सुकुम्बासीहरुले घर टहर बनाई अतिक्रमण गरिरहेका छन् । त्यस्तै उनीहरुले पुरातात्बिक र ऐतिहासिक जग्गा पनि कब्जा गरी खेतीपाती गर्न थालेका छन् । अहिले त्यहाँ करिब ५० बटा घर टहरा निर्माण भएको छ भने ५ हेक्टर जग्गा पनि खेतीपातीका लागि प्रयोग गरिएको छ । शाक्य बध स्थलका रुपमा इतिहासमा उल्लेख गरिएको सगरहवा तालमा १७ वटा स्तुप रहेका छन् । यहाँ ७७ हजार शाक्यको बध गरिएको कुरा इतिहासमा उल्लेख भए पछि प्रशस्त बौद्ध धर्मावलम्बीहरु तीर्थाटनका लागि आउने गर्दछन् ।

कोषले मुख्य क्षेत्र मानेर ताल वरपर तारबार गरेपनि अन्य क्षेत्रमा मानवीय अतिक्रमण बढेको छ । अनाधिकृत रुपमा खनजोत गरि संरचना बिग्रार्ने काम भएकाले पुरातात्बिक अबषेशहरु लोप हँुदै जाने खतरा बढेको छ । यहाँ भारतीय पुरातत्बबिद् पीसी मुखर्जीले सन् १८९९ मा उत्खनन् गर्दा ठूल ठुला १२ कोठाका भग्नाबशेष र १७ बटा स्तूप फेला परेका थिए । यी सबै स्तूपमा अस्थी, कलश र त्यसमा सुनचादी तथा तामाका टुक्राका साथै कलशमा अक्षता पनि फेला परेको थियो । यस कारण यो ठाउँ महत्बपूर्ण पुरातात्बिक स्थलका रुपमा परिचित छ ।

धनकौलीकोट, गोटीहवा र सिसहनीया जग्गामा अतिक्रमण भएका छन् । त्यहाँ २०२८ साल पछि हालसम्म नापी समेत नभएको कपिलवस्तु संग्राहलयले जनाएको छ । पुरातत्व विभागको कपिलवस्तु संग्राहलयले अहिले तिलौराकोट क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया चलिरहेको हुँदा यस लगत्तै अन्य क्षेत्रमा पनि अधिग्रहण प्रक्रिया थाल्ने बताएको छ । कोषका सदस्य राजेश ज्ञवालीले सरकारबाट प्रयाप्त बजेट नआउँदा महत्वपूर्ण पुरातात्विक क्षेत्र अधिग्रहण र संरक्षण गर्न असमर्थ भएको बताए ।

 

प्रकाशित मिति : ६ भाद्र २०७५ बुधबार ००:००  ७ : ०४ बजे